राजनीति

ताप्लेजुङ र तेह्रथुममा मतगणना सुरु

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:१९ बजे

फाइल तस्वीर

विराटनगर । प्रदेश १ को ताप्लेजुङ र तेह्रथुम जिल्लामा मतगणना सुरु भएको छ । ताप्लेजुङमा मतपत्र संकलनमा ढिलाई र तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एकअर्को मतपेटिकामा परेको बिषयमा उत्पन्न विवाद मिलेपछि दुवै जिल्लामा मतगणना सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले फाक्तालुङ गाउँपालिकाको मतपेटिका खोलेर गणना सुरु गरेको जनाएको छ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६ लेलेपको धुन्सा, ग्याब्ला तथा वडा नं. ७ को ओलाङचुङगोला र याङ्माको मतपत्र सदरमुकाम फुङ्लिङ बजार आइपुग्न दुई दिन लागेका कारण मंगलबार अपरान्ह ३:३० बजेदेखि मात्रै मतगणना सुरु भएको हो । त्यस्तै तेह्रथुममा विवाद उत्पन्न भएको छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय मतदान केन्द्र (ख) को मतपेटिका खोलेर गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका सूचना अधिकारी दिपक अधिकारीले जानकारी दिए ।


उक्त मतदान केन्द्रमा प्रत्यक्षतर्पm प्रतिनिधिसभा र प्रदेशसभाको मतदान रद्द गरी पुन: मतदान गर्न निर्वाचनमा सहभागी दलहरुले सहमति गरेर निर्वाचन आयोगमा पठाएका थिए । तर आयोगले मतदान रद्ध नहुने निर्देशन गरेपछि मंगलबार दिउँसो ३ बजेबाट गणना सुरु भएको जनाइएको छ । ताप्लेजुङ र तेह्रथुममा मतगणना सुरु भएसँगै प्रदेश १ का १४ वटै जिल्लामा मतगणना सुचारु भएको छ । दुर्गम पहाडी जिल्लामा मतगणनाको काम समयमै सुरु नहुँदा निर्वाचन आयोगले भनेको समयमा मतपरिणाम आउन भने कठिनाई भएको छ ।


Author

थप समाचार
x