Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

सार्वजनिक शिक्षा सुधारका अभियन्ता शिशिरको संसद् यात्रा

इकागज |
मंसिर ७, २०७९ बुधबार १५:४५ बजे

काठमाडौँ– काठमाडौँ–६ बाट शिशिर खनाल निर्वाचित भएका छन् । खनाल एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानलाई हराउँदै पहिलो पटक संसद् छिर्दैछन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याएर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९ सय ११  र भीमसेनदासले ८ हजार ८ सय ५ मत मात्रै पाए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर विजयी बनेका खनाल काठमाडौँमै हुर्किएका हुन् । 

खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञका रूपमा परिचित छन् । उनले सामुदायिक शिक्षा विकासका निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी र त्रि–चन्द्र कलेजबाट आइएस्सी गरेका खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।


उनले अमेरिकाबाट फर्किएपछि नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’को स्थापना गरे ।  सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजारभन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच निर्माणमा पनि उनको योगदान रहेको छ । 

तुलनात्मक हिसाबले कमजोर गुणस्तर रहेको ग्रामीण भेगका विद्यालयमा विदेशी विश्वविद्यालय पढेका तथा राम्रो विषयमा स्नातक उत्तीर्ण भएका शिक्षकहरूमार्फत पढाउन टिच फर नेपाल सुरु गरेका थिए । सन् २०१२ मा टिच फर नेपालले ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको थियो ।

खनालको पहलकदमीमा सुरु भएको कार्यक्रमले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अंग्रेजी विषयको परिणाममा सुधार ल्याएको छ । विभिन्न जिल्लाका ६० सामुदायिक विद्यालयमा टिच फर नेपालले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ ।

टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुदान सहयोग दिँदै आएको छ । छनोट भएका युवाहरूले दुई वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउन पाउँछन् । । प्रविधिको सामान्य प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा खनाल नेतृत्वको ‘टिच फर नेपाल’को प्रयोगले देखाएको छ । 

यसअघि खनालले तुलसीपुर उप–महानगरपालिकाको शिक्षा सल्लाहकार भएरसमेत काम गरेका छन् । उनले तुलसीपुरको शिक्षा क्षेत्र सुधारका लागि विभिन्न नीतिहरू समेत बनाउन सहयोग गरेका छन् । खनालले भूकम्प, कोभिडलगायतका विभिन्न प्रकोपका बेला राहत वितरणका साथै शिक्षाको अवसरबाट वञ्चित बाल–बालिकाको अध्ययनको निरन्तरताका लागि राष्ट्रिय स्तरमा वकालत गर्दै आएका छन् । शिक्षा क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेका खनालले अब भने संसद्मा शिक्षाबारे आवाज उठाउने अपेक्षा गरिएको छ । 


 


Author

थप समाचार
x