राजनीति

हारसँगै राजीनामा देलान् त मन्त्रीहरूले ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १५:२७ बजे

काठमाडौं– मन्त्री पदमै रहेर चुनाव लडेकाहरूले हारसँगै राजीनामा दिनुपर्छ कि पर्दैन ? शेरबहादुर देउवा मन्त्रिपरिषद्का चार मन्त्री पम्फा भुसाल, जीवनराम श्रेष्ठ, उमाकान्त चाैधरी र उमेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा पराजित भइसकेका छन् । तर, उनीहरूले नैतिकताका आधारमा राजीनामा दिएका छैनन् । केही मन्त्रीहरू भने प्रतिस्पर्धामै छन् । 

यी मन्त्रीहरू विजेतासँग प्रतिद्वन्द्वी समेत बन्न सकेनन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा पराजित भएपनि मन्त्री पदबाट राजीनामा दिएका छैनन् । यस्तै खानेपानी मन्त्री उमाकान्त चाेधरी र राज्यमन्त्री उमेश श्रेष्ठले समेत राजीनामा दिएका छैनन् ।


पार्टी महाधिवेशनमा महामन्त्री हार हुँदा समेत नैतिकताका आधारमा डा. मिनेन्द्र रिजालले राजीनामा दिएका थिए । संसदीय प्रतिस्पर्धा रहेर हारसँगै राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने जिज्ञासा छाएको छ ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी नैतिकताका आधारमा मन्त्री पदबाट छाड्नुपर्ने बताउँछन् । अधिकारी भन्छन्, ‘पराजयसँगै नैतिक रूपमा कसैलाई पदमा बस्ने अधिकार हुँदैन । राजनीतिकर्मीले पराजयसँगै पद छाड्नु राजनीतिक दायित्व हो ।’

ललितपुर–३ मा प्रतिनिधि सभा सदस्यका निम्ति प्रतिस्पर्धारत मन्त्री भुसाल तेस्रो स्थानमा पुगिन् । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार डा. तोसिमा कार्कीले जित हासिल गरेकी छन् । काठमाडौं– ८ मा प्रतिस्पर्धामा रहेका श्रेष्ठले तेस्रो स्थानमा मत पाएका थिए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका थिए भने तोस्रोमा हाम्रो नेपाली पार्टीका सुमन सायमी रहेका थिए ।

बारा-१ बाट लडेका खानेपानी मन्त्री चाैधरी एमालेका अच्युतप्रसाद मैनालीसँग हारेका छन् । यस्तै चितवन-२ बाट लडेका राज्यमन्त्री श्रेष्ठ रवी लामिछानेसँग ३४ हजार बढी मतान्तरले पराजित भएका छन् ।


Author

थप समाचार
x