राजनीति

महामन्त्री शर्माको तेस्रो ट्रायलमा खुल्यो संसद्को ढोका

इकागज |
मंसिर ७, २०७९ बुधबार १८:४१ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट विजयी भएका छन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्मा तेश्रो पटक भने हारको ‘ह्याट्रिक’बाट जोगिएका छन् । यसपटक उनी फराकिलो मतान्तरले विजयी भएका छन्  ।

उनले एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन् ।  शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाएका छन् ।


२०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।
विद्यालय पढ्दादेखि नै शर्मा राजनीतिमा लागेका उनी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् ।

शर्मा कांग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन् । उनी १४औं महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् 

शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए । यसपटक  सत्ता गठबन्धनका दलको साथमा उठेका उनी भारी मतान्तरले विजयी भए ।

एमालेको गढ मानिएको झापा–१ मा उनलाई जित निकाल्न भने सहज नहुने अनुमान सबैको थियो । तर, शर्माले तेस्रो प्रयासमा भने एमालेको गढ भत्काएर संसदको यात्रा तय गरेका छन् । शर्माले आफू विजयी भएपछि संसदीय दलको नेतामा गगन थापालाई प्रस्ताव गर्ने घोषणा अगाडि नै गरिसकेका छन् ।


Author

थप समाचार
x