राजनीति

रोल्पा प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार २०:१८ बजे

बुटवल- रोल्पा प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन ‘सिजल’ विजयी भएका छन् । १४ हजार ९२७ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई ४ हजार ५२१ मतान्तरले पछि पार्दै र पुन विजयी भएका हुन् ।

निकटम् प्रतिद्वन्द्वी अमरसिंह पुनले १० हजार ४०६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर घर्तीमगर ८ हजार ८०४ मतका साथ तेस्रो भएका छन् भने राप्रपाका सेते दमाईले चार सय ८६ र राप्रपा नेपालका केशरबहादुर पुनले दुई सय ३७ मत प्राप्त गरेका छन् । रोल्पा प्रदेशसभा (ख)मा ३६ हजार ७७० मत सदर भएको थियो ।


२०६४ यता माओवादीले जित्दै आएको यस क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पाएपछि माओवादी वृत्तमा असन्तुष्टि बढेको थियो । गठबन्धनको निर्णयले माओवादी कार्यकर्ता विभाजित मात्र भएनन्, माओवादी पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्रकुमार पुनलाई विजयी समेत बनाए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका आकांक्षीसमेत रहेका अमरसिंह पुनलाई जिताउन माओवादी केन्द्रले सहयोग गर्ने गठबन्धनको केन्द्रीय निर्णय थियो । तर, त्यसलाई अस्वीकार गर्दै माओवादीका विद्रोही पुनले सोही क्षेत्रमा उम्मेदवारी दिएका थिए ।


Author

थप समाचार
x