राजनीति

बारा १ मा प्रतिनिधिसभा तर्फको मतगणना रोकियो

इकागज |
मंसिर ७, २०७९ बुधबार २०:४३ बजे

बारा- बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युतप्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो । 


यता एमाले भने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना बिथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेको एमाले नेता भरतबहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।

यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरूले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।  

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुँदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । 

प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी छ । न्युज कारखाना


Author

थप समाचार
x