राजनीति

डा. खतिवडाको दशौं पदको ‘क्लीयरेन्स’

इकागज |
कात्तिक २७, २०७७ बिहिवार २०:३२ बजे

काठमाडौं : संसदीय सुनुवाई समितिले सरकारले असोज १५ को मन्त्रिपरिषद् बैठकबाट अमेरिका, बेलायत र दक्षिण अफ्रिका राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विकको नाम अनुमोदन गरेको छ । सम्बन्धित देशले ‘अग्रिमा’ पठाएपछि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यक्षेत्रमा जानेछन् । प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार र मुख्यसचिव रहँदै राजदूतमा सिफारिस गरेको भन्दै सरकारले पार्टीभित्रैबाट चर्को आलोचना व्यहोर्नुपरेको थियो ।
 
संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले भने बिहीबार संसदीय सुनुवाईका क्रममा उठेका प्रश्‍नहरूको जवाफ दिएका छन् । अमेरिकाको राजदूतको रुपमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुरुप काम गर्ने भन्दै उनले अमेरिकासँगको कूटनीतिक सम्बन्धको प्रगाढता, अमेरिकासँगको एमसीसीसँगको सम्झौतालगायत द्विपक्षीय सन्धि-सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै व्यापार र लगानी प्रवर्धनलाई आफ्नो प्राथमिकता हुने संसदीय समितिलाई सुनुवाईका क्रममा जानकारी गराए ।
 
सरकारले राजदूत मनोनीत गरिसकेपछि आचरण र नैतिक पतन देखिने गम्भीर उजुरीबाहेक संसदीय सुनुवाइ सरकारको निर्णयलाई ‘क्लीयरेन्स’ दिने प्रक्रिया मात्र हो । अमेरिकाको राजदूत नियुक्त हुँदासम्म खतिवडाले लिएका सरकारी र संवैधानिक पदको संख्या १० पुग्‍नेछ । २०५९ सालमा राष्ट्रिय योजना आयोगको सदस्यबाट शुरु गरेर अहिलेसम्म उनले धेरै आकर्षक र प्रभावशाली पदहहरू लिए । पदले पछ्याइरहने खतिवडाको ‘राज’ जान्‍न सबै उत्सुक छन् ।
 
उनलाई नजिकबाट चिन्‍नेहरूले भने उनी राम्रो प्राज्ञिक पृष्ठभूमीका साथै शक्तिलाई चिन्‍ने र पुज्‍न माहिर व्यक्तिका रुपमा व्याख्या गर्ने गर्छन् । त्यसो त राष्ट्र बैंकको उनको सरकारी जागिरमा समेत उनले प्रतिस्पर्धा गर्नुपरेन । उनले तीन दशक अघि तत्कालीन गभर्नर कल्याणबिक्रम अधिकारीबाट विज्ञका रुपमा बिना प्रतिस्पर्धा नियुक्ति पाएका थिए । 

सरकारी तथा संवैधानिक नियुक्तिमा १७ वर्ष 
डा. खतिवडाले डा. यादव प्रसाद पन्त, डा. बद्रीप्रसाद श्रेष्ठ र भेषबहादुर थापाकै जस्तो पदचाप पछ्याएका छन् । मुलुकको आर्थिक नीति निर्माण र कार्यान्वयनका प्रमुख निकायहरू अर्थ मन्त्री, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि राजदूतसम्म हुने भाग्यमानी हुन्, खतिवडा । राजाको शासनकालमा उनको पहिलो नियुक्ति सुरु भएपनि लोकतान्त्रिक शासनव्यवस्थाको सबैभन्दा बढी लाभ पाउने व्यक्ति उनै बनेका छन् ।


दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रियसभाको सदस्य, दुई पटक अर्थमन्त्री साथै सञ्‍चार र सूचना प्रविधिमन्त्रीको समेत दोहोरो जिम्मेवारी, मन्त्री पद सकिएलगत्तै प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनेका खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त भएको दुई साता नबित्दै सरकारले अमेरिकाका लागि राजदूत सिफारिश गरेको हो ।

संसदीय सुनुवाईका क्रममा बुधबार खतिवडालगायत
 
अमेरिकामा राजदूतको चारवर्षे कार्यकाल पुरा गर्दा उनले नेपाल राष्ट्र बैंकको जागिरे जीवन पुरा गरेपछि सरकारी र संवैधानिक नियुक्तिका १७ वर्ष पुरा गर्नेछन् । राष्ट्र बैंकमा २० वर्षे जागिरे जीवन पुरा गरेका पेन्सनधारी खतिवडाले त्यसपछिको झण्डै त्यही बराबरको कालखण्ड सरकारी र संवैधानिक नियुक्तिमा व्यतीत गर्नेछन् । 

शक्तिका उपासक 
सरकारी नियुक्तिमा खतिवडाको सिफारिश भने तत्कालीन अर्थमन्त्री बद्रीप्रसाद श्रेष्ठले सिफारिश गरेका थिए । राष्ट्रिय योजना आयोगमा झण्डै तीन वर्ष सदस्य रहँदा उनले प्रधानमन्त्रीहरू लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवासँग काम गरे । 

त्यतिबेलै देउवाको प्रधानमन्त्रीत्वकालमा उनले राष्ट्र बैंकको गभर्नरका लागि ‘लबिङ’ पनि गरे । बैंकर ज्ञानेन्द्र ढुंगानालगायतले उनलाई गभर्नर बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि पुर्‍याएका थिए । आफ्नो स्वार्थका लागि जुनसुकै शक्तिसँग नजिक हुने स्वभावका उनलाई तत्कालीन प्रधानमन्त्री देउवाले गभर्नर बनाउन अस्वीकार गरे । फलस्वरुप उनी तत्कालीन नेकपा एमालेसँग नजिकिएका हुन् ।
 
राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै योजना आयोगमा आएका खतिवडा त्यसपछि फर्केर राष्ट्र बैंकमा काम गर्न गएनन् । काज बिदामै उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को क्षेत्रीय केन्द्र कोलम्बोमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गर्न गएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सरकार सञ्‍चालनमा उनको विज्ञता उपयोग गर्न नेपाल बोलाएका थिए ।
 
नेपालकै प्रधानमन्त्रीकालमा खतिवडा पहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भए । त्यही बेला नेपाल राष्ट्र बैंकको गभर्नर खालि भयो र खतिवडाले रोजीछाडी पद पाउने गरी वर्तमान प्रधानमन्त्री ओलीलाई जस्तै नेपाललाई पनि प्रभावमा पारेका थिए । पार्टीभित्रको राजनीतिमा ओली हावी भएपछि उनी ओलीसँग नजिकिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनी कालान्तरमा निकट भए । अर्थमन्त्री नियुक्त भएपछि उनी सांसद्हरूको निर्वाचन क्षेत्रजस्तै आफ्नो निर्वाचन क्षेत्र भन्‍नु नै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी रहेको बताउने गर्थे ।
 
लाभ र आकर्षणका पदमा वरियता नहेर्ने र पदलोलुप चरित्रका रुपमा उनको आलोचनासमेत हुँदै आएको छ । माधवकुमार नेपालको सरकारमा राज्यमन्त्री सरहको राष्ट्रिय योजना आयोग उपाध्यक्ष छाड्दै मर्यादाक्रममा आयोगकै सदस्य सरहको पद गभर्नरमा नियुक्ती लिएका थिए । अर्थात्, राज्यमन्त्री विशिष्ठ श्रेणीमा झरेका थिए । मर्यादाक्रममा मन्त्री सातौं तहमा पर्छ । उनी मन्त्रीसरहको पद छाड्दै मर्यादाक्रममा १३ औं नम्बरको राजदूत बन्‍ने भएका छन् ।

यद्यपि, अमेरिकाको राजदूतमा भने खतिवडाले राम्रो भूमिका निर्वाह गर्न सक्छन् । नेपालको विकास प्रक्रियामा लामो समय काम गरेको एक कुशल अर्थशास्त्रीका रुपमा खतिवडाले अमेरिकासँग आर्थिक कूटनीति प्रगाढ बनाउनुका साथै अमेरिकामा मुख्यालय रहेका विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सुदृढ सम्बन्ध कायम गर्न भूमिका निर्वाह गर्नसक्ने अपेक्षा गरिएको छ ।

खतिवडाले अहिलेसम्म पाएका नियुक्ती 

१. राष्ट्रिय योजना आयोगको सदस्य (२०५९-२०६२)
२. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष (२०६६ असार ८ -२०६६ चैत ९) 
३. नेपाल राष्ट्र बैंकको गभर्नर (२०६६ चैत- २०७१ चैत)  
४. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष (कार्तिक २०७२- साउन २०७३) 
५. राष्ट्रिय सभा सदस्य (फागुन २०७४- २० फागुन २०७६)
६. अर्थमन्त्री (फागुन २०७४- फागुन २०७६)
७. अर्थमन्त्री (फागुन २०७६- १९ भदौ २०७७)
८. सञ्चार तथा सूचना प्रविधि मन्त्री (८ फागुन २०७६- १९ भदौ २०७७)
९. प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (२९ भदौ २०७७)
१०. अमेरिकाका लागि नेपाली राजदूत (१५ असोज, २०७७ सिफारिश)- कार्यकाल ४ वर्ष 


Author

थप समाचार
x