आमचुनाव
पहिलो दल बन्ने बाटोमा कांग्रेस, एमाले पछ्याउँदै : हालसम्म कसले कति जिते ?
खुम्चिए माओवादी र एकीकृत समाजवादी, समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा
काठमाडौँ - प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणा आउने क्रम जारी छ । हालसम्म प्राप्त मतपरिणाम अनुसार प्रतिनिधि सभामा सबैभन्दा धेरै क्षेत्रमा नेपाली कांग्रेसले जित हात पारेका छ । बिहीबार बिहानसम्मको अन्तिम परिणाम अनुसार कांग्रेसले प्रतिनिधि सभामा २५ सिटमा जित हात पारेको छ भने ३१ सिटमा अग्रता बनाएको छ । हालसम्म जित हात पारेका स्थान र अग्रताका हिसाबले कांग्रेस पहिलो दल बन्ने बाटोमा देखिएको छ ।
दोस्रोमा कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले प्रतिनिधि सभाका १५ क्षेत्रमा जित हात पारेको छ भने १९ सिटमा अगाडि छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यसपालीको चुनावमा खुम्चिने संकेत देखिएको छ ।
माओवादी केन्द्रले सात सिट जितेको भने १० सिटमा अग्रता बनाएको छ । नेकपा नेकपा (एकीकृत समाजवादी)ले ६ सिटमा जित हात पारेको छ भने चार सिटमा अग्रता बनाएको छ । चुनावअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतत्रले चार सिटमा जित हात पारेको छ भने पाँच सिटमै अग्रता बनाएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सिटमा जित हात पार्दा तीन सिटमा अग्रता बनाएको छ । जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले समान एक/एक सिट जितेका छन् भने एक ठाउँमा स्वतन्त्र उम्मेदवार विजयि भएका छन् ।
प्रदेश सभा सदस्यमा पनि सबैभन्दा धेरै कांग्रेसले नै जितेको छ । प्रदेशका ६० क्षेत्रमा जितेको कांग्रेस ३९ सिटमा अगाडि छ । नेकपा एमालेले ३१ क्षेत्रमा जित हात पार्दा ५७ क्षेत्रमा अग्रता बनाएको छ ।
माओवादी केन्द्रले १९ ठाउँमा जित्दा २७ ठाउँमा अग्रता बनाएको छ । प्रदेश सभा सदस्यमा नेकपा एस, जसपा, राप्रपा र राप्रपाले समान पाँच/पाँच सिटमा जित हात पारेका छन् । यस्तै जनमत पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले दुई सिट जितेका छन् ।
प्रतिनिधि सभामा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले समानुपातिकमा भने एमालेभन्दा पछाडि छ । बिहीबार बिहानसम्मको मतपरिणाम अनुसार समानुपातिकमा एमालेले सबैभन्दा धेरै चार लाख २३ हजार ८४० मत प्राप्त गरेको छ । कांग्रेस तीन लाख ८७ हजार ८१२ मतका साथ एमालेलाई पछ्याइरहेको छ । समानुपातिकमा सुरुवातदेखिनै एमाले कांग्रेसभन्दा अगाडि रहँदै आएको छ ।
तेस्रोमा भने नवगठित रास्वपा रहेको छ । रास्वपाले दुई लाख २० हजार ५९९ मत प्राप्त गरेको छ । माओवादी केन्द्र रास्वपाभन्दा पनि पछाडि छ । माओवादीले एक लाख ८२ हजार ८९६ मत प्राप्त गरेको छ । अहिलेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्र चौथो स्थानमा छ ।
पाँचौँ स्थानमा राप्रपा रहेको छ । राप्रपाले एक लाख १६ हजार ७९६ मत प्राप्त गरेको छ ।
अन्य दलहरूले ५० हजार मत पनि कटाउका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया