कर्णालीमा एमाले : २०७४ सालमा पहिलो, यसपालि शून्य
काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमाले प्रतिनिधिसभा निर्वाचनमा पत्तासाफ भएको छ । २०७४ सालको निर्वाचनमा १२ मध्ये ६ सिट जितेर पहिलो बनेको एमाले यसपालि जितविहीन हुने निश्चित देखिन्छ । एमाले कर्णालीका ९ क्षेत्रमा पराजित भइसकेको छ भने बाँकी तीनमा पनि हार्ने पक्कापक्की छ ।
गत निर्वाचनमा एमालेले सुर्खेतका दुवै क्षेत्र जितेको थियो । यसपालि भने दुवै क्षेत्र गुमाएको छ । त्यतिबेला सुर्खेत–१ मा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई हराएका थिए । यसपालि खड्काले हारको बदला लिएका छन् । उनले शाहीलाई करिब १२ हजार बढी मतले पराजित गरेका छन् । उनले ४२ हजार ६ सय ७ मत ल्याउँदा शाहीले ३० हजार ९ सय ८८ मत पाए ।
सुर्खेत–२ मा पनि कांग्रेसका थानीले गत निर्वाचनमा हारको बदला लिएका छन् । त्यतिबेला उनी एमालेका नवराज रावतसँग पराजित भएका थिए । यसपालि भने उनलाई एमालेका अमृतबहादुर बुढा क्षेत्रलाई हराएर सांसद बनेका छन् । थानीले ३४ हजार ६ सय २५ मत ल्याउँदा क्षेत्रले २९ हजार ५ सय ५८ मत ल्याएका छन् ।
एमालेले २०७४ सालमा दैलेखका पनि दुवै क्षेत्र जितेको थियो । अहिले भने पराजित भएको छ । त्यतिबेला एमालेका रवीन्द्रराज शर्माले राप्रपाका दीपकबहादुर शाहीलाई पराजित गरेको थिए । यसपालिको निर्वाचनमा पनि दोहोरिएका शर्मा नेकपा एकीकृत समाजवादी (एस)का अम्मरबहादुर थापासँग पराजित भएका छन् । थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा शर्माले १९ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् ।
यस्तै, दैलेख–२ गएको निर्वाचनमा एमालेका उम्मेदवार राजबहादुर बुढा क्षेत्रीले कांग्रेसका शिवराज जोशीलाई पराजित गर्दै सांसद चुनिएका थिए । यसपालि त्यहाँ कांग्रेसले हारको बदला लिएको छ । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले हराएका छन् । शाहीले २० हजार १ सय ५८ मत पाउँदा पोखरेलले २० हजार ५ मत पाएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र भएको डोल्पामा पनि एमाले विजयी भएको थियो । त्यतिबेला एमालेका धनबहादुर बुढाले कांग्रेसका अंगदकुमार बुढालाई पराजित गरेका थिए । यसपालि डोल्पामा नेकपा एकीकृत समाजवादीले जितेको थियो । अहिलेको चुनावमा पनि बुढा नै दोहोरिएका छन् । नेकपा एसबाट उम्मेदवार बनेका बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् । बुढाले ११ हजार २ सय ९२ मत ल्याउँदा शाहीले ५ हजार ५ सय ५ पाएका छन् ।
कर्णालीको एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्को जिल्ला मुगुमा पनि गएको चुनावमा एमाले विजयी भएको थियो । उक्त निर्वाचनमा एमालेका गोपालबहादुर बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गरेका थिए । यसपालि त्यहाँ कांग्रेस अघिल्लो निर्वाचनमा व्यहोरेको हारको बदला लिने दाउमा छ । शाही एमालेका राजबहादुर कार्कीसँग २५ बढी मतन्तारले अगाडि छन् । यहाँ ठकुरीले जित्ने निश्चित भइसकेको छ ।
अन्तिम परिणाम आउन बाँकी कालीकोट र हुम्लामा पनि एमाले हार्ने निश्चित भइसकेको छ । कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही एमालेका श्री नगीन्द्र शाहीभन्दा करिब ५ हजार बढी मतान्तरले अगाडि छन् । शाहीले १८ हजार ३ सय २९ मत ल्याउँदा नगीन्द्रले १३ हजार ५ सय ९३ मत पाएका छन् ।
यस्तै, जाजरकोट, सल्यान, जुम्ला र रुकुम पश्चिमको अन्तिम नजिता सार्वजनिक भइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार क्रमशः शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा विजयी भएका छन् ।
बस्नेतले निकटतम् प्रतिद्वन्द्वी एमालेका निराजप्रसाद आचार्यलाई पराजित गर्दै सांसदमा निर्वाचित भएका छन् । बस्नेतले ३४ हजार १ सय ५१ मत पाएका छन भने आचार्यले २५ हजार १ सय २० मत पाए ।
यस्तै, माओवादीका शर्माले निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दराम देवकोटालाई हराएर भारी मतान्तरले हराउँदै सांसद चुनिएका छन् । शर्माले ३९ हजार ५ सय ४९ ल्याउँदा देवकोटाले १२ हजार ९ सय ६१ मत पाए ।
३० वर्षयता वामपन्थी दलहरूले जित्दै आएको जुम्लामा यसपालि राप्रपाले किल्ला गाढेको छ । राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले माओवादी केन्द्रकी गोमा कुँवरलाई पराजित गर्दै जुम्लामा किल्ला गाढेका हुन् । शाहीले २२ हजार ८ सय १९ मत ल्याउँदा कुँवरले ११ हजार ९ सय ५९ मत पाएकी छिन् ।
सल्यानमा नेकपा एसका प्रकाश ज्वाला स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १६ हजार बढी मतान्तरले पराजित गर्दै सांसद बनेका छन् । ज्वालाले ३५ हजार ७ सय मत पाउँदा शाहले १९ हजार ७ सय ८९ मत पाएका छन् । सल्यानमा एमाले तेस्रो भएको छ । एमालेका उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार २९ मत पाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया