राजनीति

उदयपुर-१ (१) मा माओवादीका राजन विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १२:३३ बजे

विराटनगर- उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) मा नेकपा माओवादी केन्द्रका राजन किराँती (बासु) निर्वाचित भएका छन् । उनले मुख्य प्रतिष्पर्धी नेकपा एमालेका कुशलबाबु बस्नेतलाई १ हजार २४२ मतले पराजित गरेका हुन् ।

गणनाको सुरुवाती परिणाममा पछि परेका किराँतीले पछि मतान्तर बढाउँदै जित सुनिश्चित गरेका हुन् । उनले १५ हजार ९१ मत प्राप्त गर्दा एमालेका बस्नेतले १३ हजार ८४९ मत मात्रै पाएका हुन् ।


माओवादीले थालेको सशस्त्र संघर्षमा सुरुवातदेखि नै लागेका किराँती शान्ति प्रक्रिया पश्चात् २०६४ र ७० को संविधानसभा निर्वाचनमा उठेर पराजित भएका थिए ।
सत्ता गठबन्धनबाट यसपटक प्रदेशसभा सदस्यमा चुनाव लडेका उनले प्रदेशसभाको बाटो सुनिश्चित गरेका हुन् ।

पराजित भएका बस्नेतले निर्वाचनको परिणाममा पछाडि परे पनि राजनीतिक रूपमा जितेको बताएका छन् । आफ्नो पराजयको मुख्य कारण पार्टीभित्रकै अन्तरघात भएको भएको उनले दाबी गरेका छन् ।


Author

थप समाचार
x