लकडाउन हाेइन, स्वास्थ्य मापदण्डमा कडाइ गरौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि मुलुकव्यापी लकडाउन गर्न नपर्ने बताएका छन् । राजधानीमा दिनहुँ दुई हजार जनाको दरले कोभिड-१९ संक्रमित बढिरहेको जानकारीसहित अन्य अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरूबारे प्रधानमन्त्री ओलीलाई व्रिफिङ गर्दा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
कोभिड-१९ संक्रमण तीव्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएका थिए । अहिले केही क्षेत्रलाई संवेदनशिल क्षेत्रको रूपमा नै राखेर काम गर्ने नागरिकलाई सचेत गराउने नै हो भन्दै तत्काल लकडाउन नगराउने पक्षमा प्रधानमन्त्री देखिएका एक सहभागिले बताए ।
लकडाउन गर्नै परेको खण्डमा केही सहरहरूमा गरिने र त्यसका लागि अन्य वन्दोबस्ती मिलाउन पर्ने समेत उनले बताएका थिए । सीसीएमसीले बढ्दै गएको कोभिड-१९ को संक्रमणबारे सबै ब्रिफिङ सुनेपछि लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै यही संयन्त्रमा रहेर सुधार र नियन्त्रणमा लाग्न निर्देशन समेत दिए ।
संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । ‘तत्काल लकडाउन गरिहाल्ने अवस्था छैन,’ ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं सीसीएमसीका सचिव खगराज बरालले भने,‘प्रधानमन्त्रीको धारणा त्यस्तै छ । सबै जनाले कडाईका साथ स्वास्थ्य मापदण्ड अपनाउन पर्छ ।’ पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।
संक्रमण फैलिने क्रम बढेपछि काठमाडौं तथा ठूला सहरका विद्यालय बन्द गरिएको छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनको अनुमति दिइएको छैन। सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गर्दै सिट क्षमताभन्दा बढी यात्रु नराख्न समेत भनेको छ । अहिले रंगशालामा भएको फुटवलका बारेमा पनि छलफल भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नक्सा नै सार्वजनिक गर्दै खतरामा रहेका जिल्लाहरूलाई रातो घेरामा राखेको छ । त्यसमा काठमडौँ र ललितपुर मुख्य छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई लकडाउनको सिफारिस गर्न सुझाव दिइसकेको भए पनि प्रधानमन्त्रीले अहिले लकडाउन गर्न पर्ने अवस्था नभएको बताएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया