राजनीति

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

इकागज |
मंसिर १०, २०७९ शनिबार १८:३७ बजे

इनरुवा- लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन् ।

मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरे । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो ।


शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको छ सय छ मत नेकपा(एमाले)को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ ।

सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा छ सय छ मत थप गरी २० हजार दुई सय ११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो ।

 यसरी एक पटकमा छ सय छ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका हुन् । अनधिकृत रूपमा मतगणनाका लागि कर्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएको लगायत आरोप कांग्रेसको छ ।

कांग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, एमालेका तर्फबाट उम्मेदवार रहेका जगदीशप्रसाद कुसियैतलगायत विभिन्न पार्टीका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो ।


Author

थप समाचार
x