सङ्खुवासभामा प्रतिनिधि सभा र प्रदेश सभा (१) मा गबन्धन र (२)मा एमाले विजयी
सङ्खुवासभा- सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका उम्मेदवार खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत प्राप्त गरेका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका हुन् ।
विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भीडन्त हो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।
प्रदेशसभा (१)मा माओवादी विजयी
प्रदेशसभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भएका छन् । उनी निकटतम् प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१)मा ३१ हजार पाँच सय चार मत खसेको थियो । प्रदेशसभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेशसभा (१)मा जितेको छ ।
प्रदेशसभा(२) एमाले विजयी
प्रदेशसभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् । एमालेका लिङ्थेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार दुई सय ४२ मत ल्याएका छन् ।
एमालेका लिङ्थेप दुई सय ४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख थिए । गठबन्धनको साथ पाएका थापा यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेका छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेशसभा(२)मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया