राजनीति

अहिलेसम्म कति वटा राजनीतिक दलले पाए राष्ट्रिय पार्टीको मान्यता ?

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १८:६ बजे

काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरूले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराएका हुन् ।


जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मतगणना भइसकेको छ । न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पारे ।

आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ । दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुने छन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन् ।

त्यसो गर्दा एक तिहाइ महिलाहरूको संख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए ।


Author

थप समाचार
x