राजनीति

धनराज गुरुङलाई बधाइ दिँदै पद्‌मा अर्यालले भनिन्- स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन

इकागज |
मंसिर १८, २०७९ आइतबार १०:४६ बजे

काठमाडौँ - नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले स्याङ्जा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता धनराज गुरुङलाई बधाइ दिएकी छन् । गुरुङकी निकटतम प्रतिद्वन्द्वीसमेत रहेकी अर्यालले सबैकुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न आफू प्रतिबद्ध छु रहेको उनले बताएकी छन् । 'हामीले अगाडि बढाएका कयौं योजनाहरू छन्, तिनलाई पुर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरू आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु,' उनले भन्की छन्, 'राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु । स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक बधाइ छ ।'

तर उनले निर्वाचनमा भएको भनिएको धाँधलीबारे भने पुन: प्रश्न उठाएकी छन् । उनले गुरुङमाथि स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्न नसकेको दर्जनौं प्रमाणहरूले बताइरहेको बताएकी छन् । 'म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं,' उनले भनेकी छिन्, 'साक्षीका रूपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्वीकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने नेताको रूपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरूले त्यही बताइरहेका छन ।'



Author

थप समाचार
x