समानुपातिक सांसद चयनमा दलहरूले छक्याउन खोजे के छ निर्वाचन आयोगको तयारी ?
महिलाको सिटमा पुरुष सांसद बनाउन पाइँदैन्, पुरुषको सिटमा महिला सांसद बनाउन पाइन्छ
फाइल तस्बिर
काठमाडौँ- राजनीतिक दलहरू यतिखेर समानुपातिक सांसद चयनको रस्साकस्सीमा छन् र उनीहरूले आज साँझसम्म निर्वाचन आयोगलाई नाम बुझाइसक्नुपर्नेछ । उता, निर्वाचन आयोगका प्रमुख दिनेश थपलिया सांसद चयन गर्दा ‘क्लस्टर’मा खेलवाड भएमा आयोगले दलहरूलाई स्पष्टीकरण मागसहित नाम सच्याउन लगाउने बताउँछन् ।
नियम–निर्देशिकाविपरीत लटरपटर पारेर पठाएको खण्डमा १२ घण्टाको स्पष्टीकरण सोध्ने पनि जानकारी दलहरूलाई गराएको थपलियाले बताए । उनले इकागजसँग भने, ‘यदि क्लस्टरमा कुनै तल–माथि गरेको खण्डमा हामी स्पष्टीकरणसहित पत्र पठाउनेछौं ।’ जसमा के, कति कारणले आयोग निर्देशन अवज्ञा भएको हो भन्ने उल्लेख गरिनेछ ।
‘राजनीतिक दलहरूले समानुपातिक सांसद छान्दा ‘क्लस्टर’मा तलमाथि गर्न पाउनुहुन्न’ थपलियाले इकागजसँग भने, ‘उहाँहरूले तय गरेको प्राथमिकता क्रमबाटै चयन गर्नुपर्छ । ठ्याक्कै ‘क्लस्टर’ तोकिएकामा तलमाथि गर्न पाइँदैन । महिलाका निम्ति जति सिट छुट्याइएको छ, त्यसमा पुरुष लैजान पाइँदैन । तर पुरुषको ठाउँमा महिला लैजान छूट छ ।’
उनका अनुसार जसको ‘क्लस्टर’ तोकिएको छैन, तिनको हकमा तल नाम तोकिएको भए पनि लैजान सकिन्छ । उदाहरणका निम्ति खस–आर्यमा अपांङ्गता भएको एक जना पुरुषको नाम तल रहेछ भने पनि लैजान सकिन्छ ।
आयोग संसद्ले बनाएको कानुन पालना प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘दलहरूले पनि आफूले बनाएको कानुन पालना गर्नैपर्ने हुन्छ । हामीसँग निहुँ खोज्नुको कुनै अर्थ हुँदैन । त्यसैले कानुनतः मिलाएर पठाउनुहुनेछ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया