समानुपातिकको बन्दसूची विवरण सच्याउन दलहरुलाई समयसीमा
काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ ।
आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमबार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए ।
केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए । उनले आयोगले दलहरुबाट त्रुटी सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने जानकारी दिए ।
प्रदेश सभा तर्फ केही–केही राजनीतिक दलले पेस गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ । मुस्लिममा १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरिएको छ । अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूह तानेर सिफारिस गरिएको देखिन्छ ।
अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम लिइएको देखिएको उनले बताए । खस आर्यको पहिलो प्राथमिकता क्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको देखिन्छ । ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरिएको छ । महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस भएको समेत भेटिएको उनले बताए ।
खस आर्यको नाम सिफारिस हुनुपर्नेमा थारुको नाम सिफारिस भएको छ । खस आर्य महिलाको नाम सिफारिस गर्नुपर्नेमा सो बाहेक अन्यको नामावली सिफारिस गरिएको लगायतका त्रुटीगत विषयहरु देखिएका छन् । आयोगले सुधारसहितको विवरण प्राप्त भइसकेपछि त्यसरी बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्छ र त्यसपछि प्रमाणपत्र वितरण गरिनेछ ।
उनले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेकाे उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया