युवा संघले भन्योः मानवता विरोधी अपराधमा सजाय काटिरहेकालाई छुटाउन अध्यादेश
'अध्यादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउँछौँ'
काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्ने निर्णयको युवा संघले आपत्ति जनाएको हो।
युवा संघका अध्यक्ष किरण पौडेलले जनादेशबाट अस्वीकार गरेको गठबन्धन सरकारले नयाँ सरकार गठन गर्ने बेलामा नाजायज चलखेल गरेको आरोप लगाएका छन्।
सोमबार उनले अध्यादेश फिर्ता गर्न सरकारलाई चेतावनी दिँदै भनेका छन्, 'सङ्क्रमणकालीन अवस्थामा लोकतन्त्र र कानुनी राज्यको समेत धज्जी उडाएर दण्डहीनता र अराजकतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याई अनैतिक गठबन्धन गर्ने प्रपञ्चका लागि वर्तमान काम चलाऊ सरकारले नवनिर्वाचित संसद्को गरिमामाथि गम्भीर प्रहार गरेको छ।'
समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सरकार गठनको आधार बनाउनु पर्ने उनले माग राखेका छन् । 'सरकार नाजायज षडयन्त्रका साथ अध्यादेश जारी गरी गैर कानूनी ढंगबाट संविधान,ऐन र कानूनको मूल मर्ममाथि प्रहार गरेर सरकार गठनका लागि हानिकारक, षडयन्त्रकारी गतिविधि गर्नु अत्यन्तै निन्दनीय रहेको छ,' उनले थप अगाडि भनेका छन् ।
रेशम चौधरीको नाममा मानवता विरोधी गम्भीर जघन्य अपराधको सजाय भोगिरहेका मोहमद अफ्ताव आलम जस्ता अपराधीलाई छुटकारा दिने षड्यन्त्रको पर्दाफास भएको उनले उल्लेख गरेका छन्। जनहीतविपरीत ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया