राजनीति

कसरी चुनिन्छ राष्ट्रपति ?

कमल विष्ट |
मंसिर २७, २०७९ मंगलबार १६:२७ बजे

काठमाडौं– अब सरकारको नेतृत्व कुन दलले गर्ला भन्ने चर्चा चलिरहँदा सत्तासीन गठबन्धनमा सम्मिलित दलका केही नेताहरूले राष्ट्रपतिका लागि तीव्र आकांक्षा व्यक्त गरिरहेका छन् । आफू सहभागी गठबन्धनको सरकार बन्ने सम्भावना प्रबल देखिएपछि केही नेताहरू आकांक्षी देखिएका हुन् । 

गठबन्धनको प्रमुख घटक कांग्रेसले नेतृत्व व्यवस्थापन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘राष्ट्रपति’मा अघि सार्ने टिकाटिप्पणी बढेको छ । तर, पौडेलले भने आफूलाई पार्टीभित्र भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका छन् ।


गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रबाट पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले राष्ट्रपतिको चाहना देखाएका छन् भने बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनले बढुवा चाहेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालले पनि चाहना व्यक्त गरेका छन् । खनाल प्रतिनिधि सभा निर्वाचनमा इलामबाट पराजित भएका थिए ।

पौडेल, महरा, पुन, सापकोटा, नेपाल र खनालमध्ये को राष्ट्रपति बन्ला ? यीमध्येबाटै कोही बन्ला वा एमाले गठबन्धनबाट बन्ला ? यो हेर्न केही महिना कुर्नैपर्नेछ । अहिले चर्चा गरौँ राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया, योग्यता आदिबारे । 

राष्ट्रपतिकाे योग्यता ?

संघीय गणतान्त्रिक नेपालले केही महिनामा तेस्रो राष्ट्रपति पाउँदै छ । रामवरण यादव नेपालका पहिलो राष्ट्रपति हुन् भने बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो । संवैधानिक प्रावधानअनुसार एकै व्यक्ति दुईभन्दा धेरैपल्ट राष्ट्रपति हुन मिल्दैन । भण्डारीको यो दोस्रो कार्यकाल भएकाले देशले नयाँ राष्ट्रपति पाउने निश्चित भएको हो ।

सांसद नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न पाउने या नपाउने भन्ने जिज्ञासा बढेको छ । संसदबाहिरको व्यक्ति पनि राष्ट्रपति बन्न सक्छ । संविधानतः राष्ट्रपति बन्न सांसद बन्नुपर्दैन । तर, राष्ट्रपतिको उम्मेदवारलाई दलका पाँच जना सांसद्ले प्रस्ताव र पाँच जनाले समर्थन गर्नुपर्छ । 

नेपालको संविधान, २०७२ को धारा ६४ ले राष्ट्रपतिको योग्यताबारे व्याख्या गरेको छ । जसअनुसार राष्ट्रिपति हुने व्यक्तिले वंशज नागरिकता लिएको र उमेर कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । उक्त कुनै पनि कानुनले अयोग्य नभनेको हुनुपर्ने प्रावधान छ । संविधानतः राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्नेछ ।

निर्वाचन प्रक्रिया 

संविधानको धारा ६२ ले राष्ट्रपति चुनिने प्रक्रियाबारे व्याख्या गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार राष्ट्रपति राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले छान्ने व्यवस्था छ । 

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा कुल ३ सय ३४ सदस्य छन् । यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य छन् । यसरी राष्ट्रपतिको चुनावमा जम्मा ८ सय ८४ सदस्यले मतदान गर्छन् । 

तर, हालैको निर्वाचनमा केही चुनिएका सांसदहरुविरुद्ध फौजदारी अभियोग लागिरहेको हुँदा उनीहरु निलम्बित अवस्था हुन्छन् । तिनले मतदान गर्न पाउने छैनन् । चुनावकै मुखमा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएको हुँदा एक सदस्य खालि छ । यसले मतदाता संख्यामा केही कमी हुनेछ ।

तर, संघीय र प्रदेशसभा सदस्यको मतभार फरक हुन्छ । संघीय संसद्को प्रत्येक सदस्यको मत ७९ हुन्छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । संघीय संसद् सदस्यका कुल ३ सय ३४ सदस्यको जम्मा मत २६ हजार ३ सय ८६ हुन्छ । 

यस्तै, प्रदेशसभा सदस्यका ५ सय ५० सदस्यको कुल मत २६ हजार ४ सय हुन आउँछ । यसरी राष्ट्रपतिको निर्वाचनमा ८ सय ८४ सदस्यको जम्मा मत ५२ हजार ९ सय ८६ हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतको बहुमत ल्याउनुपर्छ ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x