राजनीति

सरकारले लकडाउन गरेर आफ्नो दायित्व बिर्सन हुँदैन : विवेकशील साझा

इकागज |
बैशाख १४, २०७८ मंगलबार १९:५८ बजे

 काठमाडौँ  : विवेकशील साझा पार्टीले कोभिड संक्रमण दर उच्च भएपछि लकडाउन गरेर सरकारले आफ्नो दायित्व बिर्सन नहुने बताएको छ ।  कोभिड १९ को दोस्रो लहरले काठमाडौँ उपत्यकासहित केही जिल्लामा भयावह अवस्था सिजैना भइसकेको भन्दै विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।    

प्रेस विज्ञप्ति 


कोभिड १९ को दोस्रो लहरले देशको राजधानीसहित केही जिल्लामा भयावह स्थिति सिर्जना गरिसकेको अवस्थामा सङ्क्रमणको जालो तोड्न लकडाउन गर्नु अत्यावश्यक भइसकेको थियो ।  तर, विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराउँदै हामी सरकारलाई निम्न सुझाव तत्काल कार्यान्वयनका लागि आग्रह गर्दछौँ । 

१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति  देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान । अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता ।

२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड ।

३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन ।

४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख ।

५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण । 

कोभिड १९ को सङ्क्रमण नियन्त्रण राज्य र नागरिकको संयुक्त र सुझबुझपूर्ण पहलकदमीबाट मात्र सम्भव हुने हुँदा विवेकशील साझा पार्टी यो महाव्याधिको कहरबाट यथाशीघ्र मुक्ति पाउन जिम्मेवार पूर्ण व्यवहारका लागि पार्टीका सदस्यसहित आम नागरिकलाई हार्दिक अपिल गर्दछ । 

शरदराज पाठक

प्रवक्ता, विवेकशील साझा पार्टी, १४ वैशाख, २०७८


Author

थप समाचार
x