‘थारू नभएको भए रेशमलाई राज्यले जेल हाल्थ्यो ?'
चुनावमा एउटा नेता विजयी भएपछि औधी खुसी हुन्छ, तामझामसहित विजय र्याली निकाल्छ । तर, बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्य चुनिएका लालवीर चौधरीलाई भने जितले खुसी दिन सकेको छैन । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जितेका लालवीरलाई छोराको चिन्ताले गाँजेको छ । उनका छोरा रेशम चौधरी टीकापुर घटनामा मुख्य दोषी ठहर भई जेल जीवन बिताइरहेका छन् ।
‘जितको हर्षले भन्दा छोराको पीरले पिरोलिरहेको छ,’ लामो सुस्केरा तान्दै इकागजसँग लालवीरले भने ।
मतदाताप्रति भने उनी कृतज्ञ छन् । उनले थपे, ‘जे होस् नागरिकले मेरो मूल्यांकन गरे । एउटा पीडितको आवाजलाई सुनिदिए । म सबैप्रति कृतज्ञ छु ।’
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारूहट–थारूवान आन्दोलन हिंसात्मक बन्दा सात प्रहरी र एक नाबालक गरी आठ जनाको ज्यान गएको थियो । घटनाको दुई वर्षपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीले उक्त घटनामा रेशमलगायत आठ जनालाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनायो । रेशम पाँच वर्षदेखि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।
तर, लालवीर उक्त घटनामा रेशमको संलग्नता नभएको दाबी गर्छन् । घटना घटेको दिन रेशम टीकापुरमै नभएको उनको जिकिर छ । ‘भदौ ३१ गते ज्वाइँ बितेपछि रेशम अन्तिम संस्कारका लागि काठमाडौं गएको थियो । असोज ४ गतेसम्म ऊ उतै थियो । रेशम त्यसपछि मात्र कैलाली आयो, त्यो पनि घटनाको दिन त्यहाँ थिएन,’ लालवीरले भने ।
आन्दोलनलाई हिंसात्मक नभएर बरु दशकौँदेखि मिलेर बसेका थारू र पहाडी समुदायबीच सद्भाव बनाइराख्न रेशमले अन्तिमसम्म प्रयास गरेको लालवीरको भनाइ छ । त्यसका लागि रेशमले धनगढीमा पत्रकार सम्मेलनसमेत गरेको लालवीर बताउँछन् । ‘पत्रकार सम्मेलनमा उसले भनेको थियो– हामी सबै नेपाली भएकाले मिलेर बस्नुपर्छ, एकआपसमा सद्भाव बनाइराख्नुपर्छ । यतिमात्र होइन, उसले प्रहरी प्रशासनसँग पनि समन्वय गरेको थियो,’ उनले भने।
यसरी घटेको थियो घटना
थारूहट–थारूवान र अखण्ड सुदूरपश्चिमको आन्दोलन दिनप्रति दिन पेचिलो बन्दै जान थालेको थियो । सुदूरपश्चिमलाई एक प्रदेश कायम गराउनुपर्छ भन्ने आवाज अखण्ड पक्षको थियो भने कैलाली, कञ्चनपुरसहितको क्षेत्र थारूहट प्रदेश हुनुपर्छ भन्ने माग थारूवान पक्षको थियो । दुवै पक्षधरबीच विवाद बढ्दै गयो । असोज ४ गते अखण्ड समूहले टीकापुरमा तीन हजार मोटरसाइकलसहित र्याली निकाल्यो । त्यसमा सहभागी केही प्रदर्शनकारीले आफ्नो बाइक जलाएको लालवीरको आरोप छ ।
‘बाइकसँगै मलाई पनि जलाउने योजना उनीहरूको रहेछ, भाग्यवस म भाग्न सफल भएँ,’ उनले सुनाए, ‘त्यो र्याली देखेपछि मैले बुझिसकेको थिएँ, अब यहाँ जे पनि हुनसक्छ । त्यसैले, म त्यसै दिन बर्दिया गइहालेँ ।’
उनी आफूले पनि बदिर्याबाट आन्दोलन शान्तिपूर्ण बनाइरहन सबैलाई आग्रह गरेको बताउँछन् । यति गर्दागर्दै पनि आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो । त्यसप्रति उनलाई गहिरो दुःख छ । ‘जे भयो, एकदमै गलत भयो । जसको ज्यान गए पनि नेपाली दाजुभाइ नै हुन्,’ उनले भने, ‘तर, त्यो आकस्मिक रूपमा भएको घटना थियो । अदालतले व्याख्या गरे जस्तो नियोजित थिएन ।’
लालवीर सुरक्षा निकायको कार्यप्रति शंका व्यक्त गर्छन् । घटनास्थल नजिकै करिब ७ सय सुरक्षाकर्मीको दरबन्दी रहेको सशस्त्र क्याम्प थियो । ‘तर, लक्ष्मणजी किन १८–२० जना मात्र जनपथ लिएर जानुभयो ? प्रहरीको परिवारमा मेलमिलाप थिएन कि ?,’ उनको शंका छ ।
घटनाको रात थारुमाथि हिंसा
घटनाको राति राज्यसत्ता र पहाडी मिलेर थारूमाथि हिंसा गरेको उनी बताउँछन् । ‘८२ जना थारूको घर खोजीखोजी जलाइयो । उनीहरूमाथि कुटपिट गर्यो । त्यो पनि कर्फ्युको समयमा । घटनाको तीन महिनासम्म थारूलाई टीकापुरलगायत ठाउँमा बस्नै गाह्रो भयो,’ लालवीरले भने ।
त्यो स्तरको बर्बर दमनपछि पनि पहाडी समुदायसँग भाइचारा कायम राख्न थारू समुदाय सधैँ अगाडि सरेको उनले बताए । आफूहरू थारूइतरका समुदायसँग सदैव मिलेर बसे पनि केही नेता तथा दलले आफ्नो राजनीतिक रोटी सेक्न अनेक हत्कण्डा गरेको उनको भनाइ छ ।
‘पहाडी दाजुभाइसँग वैरभाव हुँदो हो त त्यो घटनापछि हामी पनि उग्र भएर आउँथ्यौँ होला नि ? थारूका ८२ घर खोजीखोजी जलाइएको थियो । छ महिनासम्म त त्यहाँ हामीलाई बस्नै गाह्रो भएको थियो,’ उनी भन्छन् ।
थारु भएकै कारण राज्यबाट उत्पीडन
थारू भएकै कारण राज्यले आफूहरूमाथि विभेद गरेको उनको गुनासो छ । रेशम थारूइतर समुदायको भएको भए उनी अहिले जेलमा नहुने उनको जिकिर छ । रेशमलगायतको मुद्दालाई फौजदारी नभएर राजनीतिक मुद्दाका रुपमा हेर्नुपर्ने उनी बताउँछन् ।
‘यो बिसुद्ध राजनीतिक मुद्दा हो । सबै नेताहरूले यो कुरा राम्रोसँग बुझेका पनि छन् । किनभने कुनै दिन उनीहरूमाथि पनि राजनीतिक मुद्दा थियो । सबैले छुट पाए । तर, केही नेताहरूले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि रेशमको मुद्दा बल्झाए । प्रशासनले एकलौटी बनाएर उसलाई जालमा पार्यो,’ उनी आक्रोशित हुन्छन्, ‘रेशम चौधरी नभएर शर्मा, शाह, रावल, क्षेत्री वा अरु केही भएको भए राज्यले उसलाई जेल हाल्थ्यो ? राज्यले उसलाई छाड्नैपर्छ ।’
थारू सोझो जाती भएकाले राज्यले सधैँ उसलाई विभेद र उत्पीडन गर्दै आइरहेको लालवीरले आरोप छ । अपवादबाहेक थारूले शासनसत्तामा पुग्ने अवसर नपाएको उनको दुखेसो छ । आफूहरूको एकमात्र माग भनेको राज्यसत्तामा समान अधिकार रहेको उनको भनाइ छ ।
‘थारू एकदमै सोझो जाती हो । ज्यान जाओस् तर, ऊ आफ्नो बोली फेर्दैन । विकास होस् या विनास आफ्नो थातथलो छाड्दैन । औलो, बाढी, सर्पदंशलगायत चुनौतीसँग जुँधेर थारूहरू मरे, तर उनीहरूले जन्मभूमि छाडेनन् । त्यसैले नै थारूलाई धरतीपुत्र भनिएको हो,’ उनी भावुक सुनिए,‘थारूको राजनीतिक पृष्ठभूमि पनि छैन ।
अगाडि भने, ‘हामीलाई कसैसँग गुनासो छैन, दुखेसो छैन । हामी राज्यसत्तामा समान पहुँच होस् भन्ने चाहन्छौँ । तर, ४० लाख जनसंख्या भएको यो समुदायलाई राज्यले सधैँ विभेद मात्र गर्यो । अपवादबाहेक थारू समुदयको मान्छे माथिल्लो पोस्टमा छैन ।’
पहाडी दाजुभाइसँग वैरभाव छैन
पहाडी समुदायसँग थारूको कहिल्यै वैरभाव नभएको र आगामी दिनमा पनि नहुने बताउँछन्, उनी । नवगठित नागरिक उन्मुक्ति पार्टीलाई धेरैले थारू पार्टीको संज्ञा दिए पनि उनी भने त्यसलाई स्वीकार्दैनन् । पार्टीमा सबैको उपस्थिति रहेको उनले बताए । उन्मुक्ति पार्टीको महासचिव, प्रवक्ता, कोषाध्यक्षलगायत महत्वपूर्ण पदमा थारूइतर समुदायका व्यक्ति रहेको उनले प्रष्ट्याए ।
लालवीरको परिवारले रेशम छिट्टै थुनामुक्त हुन्छन् भनेर अहिलेसम्म थुप्रै नेता तथा दलको आश्वासन पायो । तर, त्यो आश्वासनमै सीमित रह्यो । तैपनि परिवारले आशाको त्यान्द्रो छाडेको छैन ।
‘जेल गएदेखि उसकी आमाका आँखा ओभाना छैनन् । म श्रीमतीलाई छोरा अब चाँडै घर आउँछ भनेर आश्वस्त पारिरहन्छु,’ लालवीरले भने, ‘हामीले सबैबाट आश्वासन मात्र पायौँ, त्यो व्यवहारमा लागू भएन । तर, म पूर्ण रुपमा विश्वस्त छु– ऊ छुट्छ, छुट्नुपर्छ ।’
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ लाई संशोधन गर्न ल्याएको अध्यादेशले उनको मनमा आशा पलाएको छ । अध्यादेशलाई उनले सकारात्मक रूपमा हेरेका छन् ।
‘यो अध्यादेश स्वागतयोग्य छ । रेशमलगायतहरू निर्दोष राजबन्दी हुन् । उनीहरू मुक्त हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनको आशा छ, ‘रेशम हाइलाइटमा भए पनि विप्लव, सिके राउतजी लगायतका कार्यकर्ता पनि यो अध्यादेश पारित भएपछि छुट्नेछन् । आशा छ, राष्ट्रपतिज्यूले पीडितको मर्का बुझ्नुहुनेछ ।’
तपाईंहरूले सत्ता गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने सर्तमा अध्यादेश ल्याइयो, यसलाई ‘बार्गिनिङ प्वाइन्ट’ बनाइयो भन्ने आरोप तपाईंहरूमाथि छ नि ?
उनी यो आरोप सत्य नभएको बताउँछन् । आफूहरूले कुनै सौदाबाजी नगरेको उनले प्रष्ट्याए । ‘यत्रो अदालत छ । विद्वान तथा कानुनी सल्लाहकार छन् । यो ल्याउनु ठीक हो होइन भन्ने कुरा उहाँहरूले राम्रोसँग बुझ्नुभएको छ,’ उनले भने।
बर्दियालाई समृद्ध बनाउने उनको सूत्र
सांसदमा निर्वाचित भएपछि आफूमा जिम्मेवारी थपिएको लालवीरले महसुस गरेका छन् । बर्दियालाई विकासित र समृद्ध बनाउन उनले केही कार्ययोजना बनाएका छन् । संसद्मा सबैभन्दा पहिला थारू समुदायलाई हरेक सरकारी निकायमा पुर्याउन आवाज बुलन्द गर्ने उनको योजना छ ।
‘तल्लो तहमा त थारूहरूको उपस्थिति छ, तर महत्वपूर्ण पदमा छैन,’ उनले भने, ‘निर्णायक पदमा पनि उपस्थिति हुनुपर्छ भनेर संसद्मा बोल्नेछु । त्यसका लागि उनीहरूले गुणस्तरीय शिक्षा पाउनुपर्छ । उनीहरुलाई शिक्षासँगै सुलभ र सरल स्वास्थ्य सेवाको पहुँचमा पर्याउन पहलकदमी लिनेछ,’ उनले भने ।
बर्दियामा बर्सेनि सयौँ हेक्टर जमिन नदीको कटानबाट बगरमा परिणत हुन्छ । उनको दोस्रो योजना कटान–जोखिम भूमिको संरक्षणका लागि सरकारलाई घच्घच्याउने रहेको छ ।
दिनप्रति दिन वन्यजन्तुको आपराधीकरण बढिरहेको समस्याप्रति पनि उनले योजना बनाएका छन् । ‘बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरीशिकारी दैनन्दिन बढिरहेको छ । योसँगै मानवबस्तीमा हात्ती, बाघलगायत हिंस्रक जनावरको आतंक पनि बढेको छ । यी दुवैका नियन्त्रणका लागि सरकारसँग पहल गर्नेछु,’ उनले सुनाए ।
यस्तै, थारू समुदायलाई खेती किसानीमा सुविधा दिने उनको चौंथो अजेण्डा हो । उनले आफू वास्तविक धरतीपुत्रलाई समयमै मलखाद र उन्नत जातको विउ–बिजन उपलब्ध गराउन संसद्मा खबरदारी गर्ने बताए । साथै, उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यको उचित मूल्य निर्धारणका लागि सरकारलाई घच्घच्याउने उनले नीति लिएका छन् ।
‘थारूलाई समान अधिकार त मेरो मूल नारा नै हो,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया