टिप्पणी
देउवाका साथमा अस्थिर नेता : पाइला-पाइलामा चुनौती
काठमाडौँ : संसदीय दल नेताको चुनावमा भारी मतान्तरले जित हात पारेपछि शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की जस्तै छ । युवा पुस्ताको नेतृत्व गरेका गगन थापाको हारले कांग्रेस सभापतिसमेत रहेका देउवालाई अब प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो ।
यतिबेला गगनको हारले भन्दा देउवाको जितले धेरै चुनौती थपेको छ । गगन नयाँ पुस्ताको नेतृत्व गर्दै प्रधानमन्त्री बन्न धेरै नयाँ कोर्स पूरा गर्नुपर्ने थियो । तर देउवाले संसदीय दलको नेताको चुनाव जित्दा अब सत्ता गठबन्धनकै नेतृत्वलाई निरन्तरता दिन सक्नेछन् । स्पष्ट बहुमत नपाएकाले हालकै गठबन्धनलाई निरन्तरता दिएर पाँच वर्ष सरकार चलाउनु देउवाका लागि सबैभन्दा ठूलो चुनौती हो । कम्युनिष्ट विचारधाराका अस्थिर नेताहरुलाई साथमा लिएर सरकार निर्माण गर्नु र आगामी दिनमा त्यसलाई निरन्तरता दिनु झन् चुनौती छ ।
त्यसमाथि आलोपालो प्रधानमन्त्री बन्नु र जुनसुकै हालतमा संविधान र संसद्को रक्षा गर्ने गर्न गठबन्धन जोगाइराख्ने चुनौती देउवासामू छ । प्रचण्डजस्ता अस्थिर र सत्ताका लागि जस्तोसुकै साँठगाँठ गर्न तयार हुने नेतालाई पनि पाँच वर्षसम्म सत्ता गठबन्धनकै ‘क्याम्पमा’ सुरक्षित राख्नु देउवाको सबैभन्दा पेचिलो चुनौती हो ।
पछिल्लोसमय एमाले नेताहरुको उक्साहटमा प्रचण्ड आफैँ नयाँ प्रधानमन्त्री बन्ने दाउमा छन् । यसका लागि उनले देउवालाई समेत घुर्की लगाइसकेका छन् । देउवाले उचित भागबण्डा नदिए र आफूलाई प्रधानमन्त्री बनाउने विषयमा स्पष्ट सहमति नगरे एमालेको समर्थनमा आफैँ प्रधानमन्त्री बन्ने प्रचण्डको अडान छ ।
यसले देउवालाई मात्रै होइन, अहिले कांग्रेसकै नेतृत्वमा चुनावमा गएको सत्ता गठबन्धनलाई समेत चुनौती छ । कुनै दलको पनि बहुमत नभएकाले देश मध्यावधिमा जान सक्ने आँकलन धेरैको छ । यस्तो अवस्थामा मतदातासामू गरेका बाचाअनुसार देउवाले आफै प्रधानमन्त्री बनेर हुन्छ वा प्रचण्डलाई प्रधानमन्त्री बनाएर हुन्छ, कम्तीमा पाँच वर्ष सत्ता गठबन्धन टिकाउने चुनौती सामना गर्नैपर्नेछ ।
अन्यथा, शीर्ष राजनीतिक दलका नेताहरुबाट विचलित भएका मतदाताको निराशाको उचाइ थप बढ्नेछ । किनकि अब गगन थापाको उदाउँदो राजनीति र खोजेको एजेन्डाको मुख्य चुरो यही हो ।
सार्वजनिक सेवा ध्वस्त भएका बेला ब्युरोक्रेसीले सरकारी ढुकुटी रित्याउने काम गरिरहँदा पनि राजनीतिक नेतृत्व केवल रमिते बनेको छ । यसले कैयौँ धेरै प्रश्न मात्रै होइन, आगामी दिनमा देशमै रहेका नागरिकको चरम निराशा र अविश्वास सामना गर्नुपर्नेछ । त्यसभन्दा ठूलो चुनौती भनेको देउवा नेतृत्व सरकारलाई आम नागरिकले महसुस गर्न सकेका छैनन् । यो चुनौती उनलाई सामान्य लागेपनि केवल संख्यामा सात पटक प्रधानमन्त्री बनेर भित्तामा फोटो टाँस्ने काम राम्रो हुँदैन ।
त्यसैले गगनलाई पुस्ताको राजनीतिलाई हराएको भनेर ओलीले जस्तै गरि दम्भ पाल्न नभई, उनीहरुलाई हरेक पाइला पाइलामा साथसाथै नलिएको खण्डमा केही वर्षमै देउवाको शक्ति क्षीण हुनेछ । यसर्थ, पनि बालुवाटारमा केवल सत्ता र स्वार्थ मात्रै हावी भएका बेला आमनागरिकको समस्या र गुनासोलाई सकेजति सम्बोधन गर्नुपर्ने दायित्व देउवालाई छ । सजिलै प्रधानमन्त्री भइहाल्छु र सकेसम्म माओवादी तथा नेकपा एकीकृत समाजवादीलाई शक्तिले पेलिहाल्छु भन्ने भ्रम त्याग्नु देउवाका लागि अर्को अवसर हो ।
पाँच वर्षअघि प्रचण्ड बहुमत हुँदा पनि ठूलो पार्टीका ठूलो नेता बनेर दम्भ पाल्दा केपी शर्मा ओली कसरी भित्तामा पुगेका छन् ? भन्ने कुरा देउवाले हेक्का राख्न जरुरी छ । त्यसमाथि कांग्रेस र माओवादीको बहुमत नै छैन । सरकार बनाउन पनि साना दलको साहारा लिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा देउवाले शक्ति बाँडफाँट र सबै नेताहरुको चित्त बुझाएर सत्ता गठबन्धन टिकाउनुको विकल्प छैन ।
यसले कांग्रेस रुपान्तरणका लागि गगन थापाजस्ता नेताहरुलाई पर्याप्त समय र सम्मान दिएर उनीहरुलाई पार्टी पुनर्निर्माणमा केन्द्रित गराउनु पनि राम्रो हुनेछ । जसले अहिले देउवाप्रति बढेको आलोचना समयले नै उनीमाथि सम्मान दर्शाउनेछ । त्यसका लागि देउवाले सोच र शैली फराकिलो गरेको खण्डमा पाँच वर्ष गठबन्धन पनि टिक्छ, सरकार पनि बन्छ र नेपाली कांग्रेस रुपान्तरण हुन सम्भव छ । अन्यथा, एमाले जुन हालतमा छ, त्यही हालतमा कांग्रेस पाँच वर्षपछि फेरि प्रतिपक्षी बन्ने अवस्थामा पुग्न सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया