राजनीति

सडकआश्रित मानवको उद्धार तथा संरक्षण राज्यको दायित्व : पूर्वप्रधामन्त्रीद्वय

इकागज |
पुस ७, २०७९ बिहीबार २१:१५ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्रीद्वय नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सडकआश्रित मानवहरूको व्यवस्थापनको दायित्व सरकारले लिनुपर्ने बताएका छन् । 

सडकआश्रित तथा बेसहारा मानवहरूको उद्धार गरी संरक्षण गर्दै आएको मानवसेवा आश्रमको टोलीले आज उनीहरूसँग गरेको भेटवार्ताका क्रममा उनीहरूले राज्यले गर्नुपर्ने काम गरेर आश्रमले उदाहरण प्रस्तुत गरेको बताए । 


आश्रमको टोलीले आज टोखास्थित डा भट्टराईको निवासमै पुगेर भेटवार्ता गरेको थियो भने नेता झलनाथ खनाललाई आलोकनगरस्थित पार्टी कार्यालयमा भेटघाट गरेको थियो । 

भेटका क्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले आश्रमले गरिरहेका गतिविधिबारे जानकारी लिएका थिए । 'उनीहरूको व्यवस्थापनको काम राज्यले नै गर्नुपर्ने हुन्छ, तब मात्रै अभियान प्रभावकारी हुन्छ, त्यो नहुँदासम्म तपाईंहरू आफैँले जे अभियान चालिरहनुभएको छ त्यसलाई कायमै राख्नुहोस्,' डा भट्टराईले भने । उनले फरक प्रसङ्ग जोड्दै अस्थिर राजनीतिका कारण मुलुकमा विकासको गति अघि बढ्न नसकेको पनि उल्लेख गरे । 

आलोकनगरमा भएको भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता खनालले यस्तो राम्रो काम गर्ने संस्थालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सो क्रममा उनलाई आश्रमले १० वर्षमा गरेका गतिविधि समेटेर तयार पारिएको डकुमेन्ट्रीसमेत देखाइएको थियो ।

भेटघाटका क्रममा आश्रमका सचिव सुमन बर्ताैलाले मानवता प्रवर्द्धनका लागि नेपथ्य ब्यान्डसँग मिलेर आश्रमले मुलुकका १० सहरमा आयोजना गरेको सङ्गीत यात्राअन्तर्गत आजसम्म विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतमा कार्यक्रम सम्पन्न भएको र अब ९ गते बुटवल, १२ गते पोखरापछि १६ गते काठमाडौँमा आएर कार्यक्रम समापन गर्न लागिएको जानकारी दिए ।

उक्त कार्यक्रमका लागि उनीहरूलाई आजै निमन्त्रणा पत्रसमेत दिइएको सचिव बर्ताैलाले जानकारी दिए । 


Author

थप समाचार
x