जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्र, ‘राजा आउ देश बचाउ’ काे नारा लाग्याे
जनकपुरधाम- चार दिने निजी भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।
निजी भ्रमणमा निस्केका पूर्वराजा शाह शुक्रबार मधेशकाे राजधानी जनकपुरधाम आइपुगे । जनकपुरधाममा बसाईका क्रममा शुक्रबार साँझै उनले गंगा आरतीमा समेत सहभागी भए । शनिबार बिहान जानकी मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरे ।
पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगे लगत्तै हजारौंको संख्यामा रहेका समर्थकहरूले ‘राजा आउ देश बचाउ’काे नारा लगाएका थिए । मन्दिरमा उनको स्वागतका लागि राताे कार्पेट बिछ्याइएको थियो भने मन्दिरका महन्त, साधुसन्त र समर्थकले स्वागत गरेका थिए ।
मन्दिरमा पूजापाठ पश्चात मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर अंकित मायाको चिनो प्रदान गरेको उनका स्वकीय सचिव तिमल्सिनाले जानकारी दिएका छन् ।
परिवारसहित आएका उनले शुक्रबार राति जिरोमाइलस्थित सिताशरण होटलमा बसे भने आज बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको भवनमा रहेको यात्री निवासको भीआइपी गेस्ट हाउसमा बसेका थिए ।
पूजापाठका क्रममा जानकी मन्दिर पुगेका पूर्व राजा शाहले संचारकर्मीहरूलाई आफ्नो भ्रमणबारे कुनै प्रतिक्रिया दिएनन् । श्रोतका अनुसार शनिबार पनि उनी जनकपुरधाममै बस्ने र सो क्रममा साँझ समर्थक र राजनीतिक भेटघाट गर्नेछन् ।
तीन दिने निजी भ्रमणका क्रममा पूर्वराजा शाह पुस ६ गते झापा पुगेका थिए । झापा हुँदै उनी जनकपुरधाम आएका हुन् भने जनकपुरधामपछि चितवन क्रिसमस कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको स्वकीय सचिव तिमल्सिनाले जानकारी दिए ।
चितवनमा क्रिसमस डे मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।
चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा भ्रमणकै क्रममा निर्णय हुने स्रोतको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया