विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति
काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास रहेको उल्लेख गर्दै उनले विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति रहेको तथा विविधता बीचको एकता नै नेपालीको साझा पहिचान भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया