राष्ट्रपतिले दिएको समय आज सकिँदै
सरकार गठनबारे छलफल गर्न सत्ता गठबधनको बैठक बस्दै
काठमाडौँ - सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक विनानिष्कर्ष सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । सत्ता सरकार गठनबारे छलफल गर्न शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।
गठबन्धनकै नेतृत्वमा सरकार बनाउन नेताहरू सहमत भए पनि पहले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगिएको छैन । नेपाली कांग्रेस र नेकपा माओवादीले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् ।
आज बस्ने बैठक निष्कर्षमा पुग्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
शनिबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।
नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया