राजनीति

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

इकागज |
पुस १०, २०७९ आइतबार १५:२० बजे

विराटनगर- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की सर्वसम्मत चयन भएका छन् ।

आइतबार प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले पार्टी स्थायी कमिटी सदस्य समेत रहेका झापा ५ (१) बाट निर्वाचित कार्कीलाई दलको नेता चयन गरेको हो । ताप्लेजुङ प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित तिलकुमार मेन्याङ्बोको प्रस्ताव र सुनसरी २ (१) बाट निर्वाचित रेवतिरमण भण्डारीको समर्थनमा कार्की दलको नेता चयन भएका हुन् ।


दलको बैठकले दलका नवनिर्वाचित नेता कार्कीको संयोजकत्वमा सरकार निर्माण लगायतका विषयमा अन्य दलहरूसँग छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा तिलकुमार मेन्याङ्बो, रेवतिरमण भण्डारी, लिलाबल्लभ अधिकारी र सिर्जना राई सदस्य रहेका छन् । 

नेकपा एमालेबाट सुनसरी ३ (१) बाट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य रोहितबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले दलको विधानलाई समेत अनुमोदन गरेको प्रदेशसभा सदस्य रेवतिरमण भण्डारीले जानकारी दिए ।

दलका नवनिर्वाचित नेता कार्कीले एमालेकै नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताए । प्रदेश १ मा जनताको अधिक रोजाइको पहिलो पार्टी भएकोले एमालेकै नेतृत्वमा सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए ।

२०२१ असोज ११ मा झापा जिल्लाको गौरादह–३ मा बुवा बमबहादुर कार्की र आमा जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा जन्मिएका कार्की विद्यार्थी राजनीति हुँदै २०३६ सालपछि राजनीतिक जीवनमा सक्रिय छन् । यसअघि प्रदेश १ को पहिलो सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की प्रदेशसभामा दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेले ४० सिट जित्दै पहिलो दल बनेको छ । निर्वाचित सबै प्रदेशसभा सदस्यहरूले सोमबार सपथ ग्रहण गर्दैछन् ।


Author

थप समाचार
x