राजनीति

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूको अवरोध : योगेश भट्टराई

इकागज |
पुस १५, २०७९ शुक्रबार १९:४ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् । उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद रहेको उल्लेख गरे ।


राज्यका कतिपय निकायहरूले विमानस्थलको विषयमा बुझ्न नसकेको भट्टराईकाे भनाइ छ । उनले वातावरण सम्बन्धी चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु भएको उल्लेख गरे ।

सांसद भट्टराईले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताए । उनले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको भन्दै न्यायको निरूपण गर्नेले पुतली गरिरहेको उल्लेख गरे ।

त्यस्तै,पूर्वपर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरूलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए । सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रूपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने उनकाे धारणा छ । उनले सरकारले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने बताए ।

हवाई उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगका रूपमा बुझ्न नसकिएको उनले जिकिर गरे । उनले नेपालमा हवाई उडान क्षेत्रको धेरै ठूलो महत्व रहेको बताए । 
 
 
 


Author

थप समाचार
x