म शक्ति र पैसाका लागि आएको हाेइन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् ।
मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।
उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । 'राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,' उनले भने, 'न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।'
आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानका सचिवसमेत रहेका मनोबाबु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधैँ केन्द्रमा रहेको बताए । उनले मन्त्री श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमुखी हुने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया