राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ
![](https://ekagajcdn.prixacdn.net/media/albums/dev_gurung_SGS7fSI2LE.jpg)
फाइल तस्बिर
चितवन- नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलका बीचमा सहमति र सहकार्यको खाँचो रहेको उल्लेख गरे ।
उनले भने, 'यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गीकार गरेको भए पनि एजेन्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।' मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए ।
देशमा वृहत् शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुवै पक्ष सहमतिका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरूको लडाइँ रहेको बताउँदै उनले यही पद्धति अङ्गीकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।
अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे, 'मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावका साथ अघि बढ्ने समय आएको छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया