एमालेमा प्रवेश गरेको भन्दै माओवादीले गर्यो दुई मेयर र पाँच उपमेयरलाई कारबाही
जनकपुरधाम : नेकपा एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले राैतहटबाट निर्वाचित आफ्ना दुई मेयर र ५ उपमेयरलाई कारबाही गरेको छ । जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ ।
तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले प्रवेश गरेका छन् । एमालेमा गएका सबैलाई माओवादी कारबाही गरेकाे हाे । माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहलाई कारबाही गरेकाे छ । रिना साह मन्त्री प्रभु साहकाे श्रीमती हुन ।
माओवादीले केही दिनअघि प्रभु साहलाई समेत कारबाही गरी पार्टीबाट निष्काशित गरेको थियो । त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासन गरेको माओवादीले जनाएको छ ।
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकोले पार्टीबाट कारबाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरिएको माओवादी जिल्ला सचिव देवेन्द्र पटेलले बताएका छन् ।
‘पार्टीको विधान विपरीत काम गरेकाले उहाँहरूसँग स्पष्टीकरण सोध्ने काम भयो,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्काशन गरेको हो ।’ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया