राजनीति

१९ सांसदको पद गयो, मुलुकलाई उपनिर्वाचनको भार

सांसद पद जानेमा संघका ६ र प्रदेशका १३ जना

मधुसुधन भट्टराई |
बैशाख १६, २०७८ बिहिवार २१:१८ बजे

काठमाडौँ : वि.सं. २०७४ मा भएको निर्वाचनबाट निर्वाचित १९ जनाको सांसद पद गएको छ । संघीय संसदका सदस्य ६ (प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २), र प्रदेश सभाका १३ सांसदको पद गएको हो । लुम्बिनी प्रदेशका ६, कर्णाली प्रदेशका ५ तथा प्रदेश-१ र सुदूरपश्‍चिम प्रदेशका एक/एक सांसदको पद गएको हो । धेरैको दल परित्याग गर्दै अर्को दलमा प्रवेश गरेर र केहीले दलको निर्देशन नमान्दा सांसद पद गएको हो ।   

प्रतिनिधि सभामा माओवादी त्यागेर एमाले प्रवेश गर्ने ४ सांसदको सांसद पद गएको छ । एमाले प्रवेश गरेका कैलाली-४ का लेखराज भट्ट,, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद खोसिएको हो । चैत २३ गते माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले पत्र पठाएर दल त्याग गरेकाले कारबाही गर्न संसद् सचिवालयलाई भनेका थिए । चैत २६ गते सभामुख अग्‍‍निप्रसाद सापकोटाले संसद् बैठकमा दल त्यागको पत्र पढेर सुनाएपछि उनीहरूको सांसद पद गएको हो । उनीहरू फागुन २८ गते एमाले प्रवेश गरेका थिए । 


उनीहरूको सांसद पद गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जनालाई नै ६ महिने मन्त्रीमा नियुक्त गरेका छन् । ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा जलस्रोत तथा सिंचाई, साह सहरी विकास, भट्ट उद्योग वाणिज्य तथा आपुर्ति र चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । राष्ट्रिय सभामा माओवादीबाट प्रतिनिधित्व गर्ने अहिले एमाले प्रवेश गरेका २ जनाको पनि सांसद पद गएको छ । रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई माओवादीले कारबाही गरेपछि उनीहरूको सांसद पद गएको हो । थापा वर्तमान सरकारका गृहमन्त्री पनि हुन् । 

संसद सचिवालयले ५ बैशाखमा सूचना जारी गरेर थापाको सांसद पद गएको जानकारी गराएको थियो । चैत १७ मा माओवादी राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले दल त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गराएका थिए । सांसद पद गएकै दिन थापालाई ओलीले पुनः ६ महिने मन्त्री नियुक्त गरेका छन् । 

राष्ट्रिय सभाका अर्का सदस्य खड्का १५ बैशाखमा पदमुक्त भएका छन् । राष्ट्रियसभा सचिवालयले बुधबार १५ बैशाखमा खड्कालाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको सूचना टाँस गरेसँगै उनी पदमुक्त भएका हुन्  । माओवादीले यही १० बैशाखमा खड्कालाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । थापा बागमती र खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशका ६ जनाको सांसद पद गएको छ । जनता समाजवादीका ४ र माओवादीका २ जनालाई पार्टीले कारबाही गरेपछि सांसद पद गएको हो । प्रदेशसभा सचिवालयले बिहीबार जनता समाजवादीका सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको छ । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (क) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरू चारै जना लुम्बिनी सरकारमा मन्त्री छन् । पाण्डेय भौतिक पूर्वाधार विकास, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी, पाण्डे शिक्षा तथा सामाजिक विकास र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए । उनीहरूलाई पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको हो । 

त्यस्तै लुम्बिनीमा एमाले प्रवेश गर्ने दुई सांसदलाई माओवादीले कारबाही गरेको छ । दधिराम न्यौपाने रुपन्देही १ (ख) दिनेश पन्थी गुल्मी २(क)लाई माओवादीले कारबाही गरेपछि उनीहरू पदमुक्त भएका हुन् । 

कर्णाली प्रदेशमा एमालेका चार र माओवादीका एक सांसद पदमुक्त भएका छन् । एमालेले पार्टीबाट निर्वाचित प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गरेपछि पदमुक्त भएका हुन् । उनीहरूले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई पार्टी निर्णयविपरित फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । ज्वालाबाहेक तीन जना अहिले शाही सरकारमा मन्त्री बनेका छन् । उनीहरू बैशाख १३ गते पदमुक्त भएका हुन् । थापा  दैलेख-१‘ख’, शाही कालीकोट ‘क’, बुढा डोल्पा ‘क’ र ज्वाला सल्यान-१ ‘ख’बाट निर्वाचित सांसद हुन् । त्यस्तै माओवादीले दैलेख-१ ‘क’ निर्वाचित धर्मराज रेग्मीलाई चैत ३० गते कारबाही गरेको छ । 

प्रदेश-१ का एक र सुदूरपश्‍चिम प्रदेशका एक सांसदलाई पनि माओवादीले कारबाही गरेपछि सांसद पद गएको छ । प्रदेश १ का टंक आङ्बोहाङ र सुदूरपश्चिम प्रदेशका झपट बोहोरालाई माओवादीले कारबाही गरेको हो । एमाले प्रवेश गरेका आङ्बोहाङ ताप्लेजुङ (ख) बाट र बोहोरा अछाम १ (ख) बाट निर्वाचित भएका थिए । बोहोरालाई चैत ३१ गते माओवादीले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको थियो । आङ्बोहाङ माओवादी छोडेर एमाले प्रवेश गर्दै वर्तमान सरकारमा सांसद पद गएपछि ६ महिने मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका छन् । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x