जनप्रतिनिधिलाई काम गर्न अनुकूल वातावरण : अध्यक्ष तिमिल्सिना
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभामा निर्वाचित नयाँ जनप्रतिनिधिलाई काम गर्नका लागि अहिले अनुकूल वातावरण रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति महासङ्घ नेपालको आजदेखि पोखरामा सुरु भएको चौथो राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उनले अघिल्ला जनप्रतिनिधिलाई कार्यालय व्यवस्थापनलगायतका काम गर्न जटिल रहे पनि अहिले सहज वातावरण बनेको उल्लेख गरे । स्थानीय पालिकाले अधिकार प्राप्त गरेपछि दोस्रो चरणमा गाउँपालिका, नगरपालिका र महानगरपालिकाबाट जनताले महसुस गर्ने गरी र परिणाम दिने गरी काम हुने विश्वास अध्यक्ष तिमिल्सिनाको छ ।
उनले भने, 'नयाँ निर्वाचित जनप्रतिनिधिलाई काम गर्न अनुकूल वातावरण छ । अब परिणाम देखाउने गरी जान सक्छौँँ । प्रदेशमा नयाँ संरचना भएकाले मुख्यमन्त्री, मन्त्री, सभामुख सभा सञ्चालन र कर्मचारी व्यवस्थापनलगायत रातारात हुने कुरा थिएन, व्यवस्थापन जटिल थियो । सेवा प्रवाह चुनौतीपूर्ण रहे पनि अब गति लिएको छ ।'
अध्यक्ष तिमिल्सिनाले समयमै ऐन कानुन नबन्दा अघिल्लो कार्यकालमा स्थानीय तहहरूले समस्या भोग्नुपरेको बताए । अबका दिनमा पहिलो काम बाँकी ऐन कानुन निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने उनले बताए । उनले भने, 'चुनावसँगै सङ्घ र प्रदेशमा नयाँ सरकार बन्ने चरणमा छ । संसद्का बैठक आह्वान भएकाले संसद् बैठकबाट सरकारले संविधानमा निर्दिष्ट गरेका बाँकी ऐन निर्माण गर्ने पहिलो काम गर्नुपर्दछ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया