संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा
फाइल तस्बिर
काठमाडौँ- पुस २५ गते (भोलि) अपरान्ह १ बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको बताए ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाइ थियो ।
संघीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर, स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए ।
संघीय संसद्मा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ ।
अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ । संघीय संसदमा सांसदहरूले पनि इहाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद् सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया