कोभिड नियन्त्रण गर्न सरकारलाई देउवाको ११ सुझाव
काठमाडौँ : नेपाली कांग्रेसले कोभिड १९ को संक्रमण नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । आज सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पत्रकारसम्मेलन गरेर कोभिड नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सुझाब दिएका हुन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देशमा निषेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए ।
‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ,’ देउवाले भने ।
हेरौँ सरकारलाई कांग्रेसले दिएको ११ सुझाव
(१) कोभिड-१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
(२) कोभिड-१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस् ।
(३) देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक गरियोस् ।
(४) सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गरियोस् । परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गरी राखियोस् ।
(५) स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।
(६)पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न फेरि माग गर्दछौं ।
(७) खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गरियोस् ।
(८) लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत-जावतलाई सहज गरियोस् ।
(९) विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाइयोस् ।
(१०) लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।
(११) मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुत गरियोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया