राजनीति

जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याईं नगरौँः विष्णु रिमाल

इकागज |
माघ २, २०७९ सोमबार १५:९ बजे

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताएका छन् ।

उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइए पनि समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरू भइरहेको बताएका हुन् । उनले अब पनि विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरू विमानमा चढ्दा मर्छु कि बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने जिकिर गरे ।


सोमबार उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकायहरू कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको उल्लेख गरे ।

सरकार र सम्बन्धित निकायहरूले विज्ञहरूले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको उनकाे भनाइ छ । उहाँले दिएका रिपोर्ट कति अवलम्बन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताए ।

उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने उल्लेख गरे ।

काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा रहेकाे सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
 


Author

थप समाचार
x