राजनीति

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

इकागज |
माघ ३, २०७९ मंगलबार १७:३ बजे

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरूलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए ।

उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । 'नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ,' उनले भने ।


स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

'दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ,' उनले भने, 'त्यसको निराकरणका लागि मैले काम गर्छु ।'

मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । 'बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो,' उनले भने ।


Author

थप समाचार
x