सञ्चारमन्त्री रेखा शर्मा सरकारको प्रवक्ता
काठमाडाैं। सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएकी हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएकी थिइन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ सय ९६ मतान्तरले हराएकी थिइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पोखरेल हारेपछि रेखालाई उपराष्ट्रपति बनाएर सांसद पदबाट राजीनामा दिन लगाउने विषयमा समेत छलफल चलेको थियो । तर, शर्माले उपराष्ट्रपति पद अस्वीकार गरेपछि त्यो विषय हराएको थियो । एमाले महासचिवलाई हराएर निर्वाचित भएकै कारण पनि उनको मन्त्री बन्ने चर्चा चलेको थियो ।
मंगलबार राष्ट्रपतिबाट शपथ लिएसँगै उनले मन्त्रालयमा कार्यभारसमेत सम्हालेकी हुन् ।
यसअघि शर्मा दुईपटक समानुपातिक प्रणालीबाट सांसद भइसकेकी छन् । पहिलोपटक २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०७४ को निर्वाचनमा पनि उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया