एमालेबाट राष्ट्रपतिकाे उम्मेदवार उठाउँछौं, राष्ट्रिय सहमति हुनुपर्छ : ओली

फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले सत्तारूढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पारे । सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भनेपछि भन्ने प्रतिक्रिया दिए ।
अध्यक्ष ओलीले भने, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछौं । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौँला ।’
ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको संकेत भएको बताए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडाभित्र राख्न खोजेको टिप्पणी गरेका थिए । शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतका रूपमा रहेको उल्लेख गरे ।
ओलीले यस अघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको समेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया