राजनीति

सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध : प्रम दाहाल

इकागज |
माघ ९, २०७९ सोमबार १९:२६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।


सशस्त्र प्रहरीले राजस्व संकलनमा पुर्‍याएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे । उनले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास लगायतका सामग्री जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने जानकारी दिए ।

उनले अनुशासित, व्यावसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दिर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।


Author

थप समाचार
x