राजनीति

गण्डकीमा सभामुखले डाके कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुखसँग असन्तुष्ट एमाले जाला बैठकमा ?

अनिष भट्टराई |
बैशाख १९, २०७८ आइतबार १८:४३ बजे

पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । १५ वैशाखबाट स्थगित बैठक सुरु गर्न सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् । 

एमाले संसदीयदलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार सोमबार ११ बजेका लागि बैठक डाकिएको छ । एमाले भने उक्त बैठकमा उपस्थितहुने/नहुने पक्का छैन । मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर बैठकमा जाने/नजाने निधो गर्ने अधिकारीले बताए । ‘हामी जाने/नजाने टुंगो छैन । बैठकभन्दा अघि दलको नेतासँग छलफल गरेर टुंगो लगाउँछौं,’ अधिकारीले भने ।


सभामुख नेत्रनाथ अधिकारीले आइतबारबाट दलहरुसँग छलफल थालेका छन् । स्थगित प्रदेश सभाको बैठक डाक्न उनले दलहरुसँग छलफल थालेका हुन् । आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीयदलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो ।

भेटमा सभामुख अधिकारीले जनमोर्चाका १५ वैशाखको बैठकमा अनुपस्थित सांसद खिमविक्रम शाहीबारे जानकारी लिएका थिए । जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएपछि सभामुखले अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु नगरी अनिश्चितका लागि बैठक स्थगित गरेका थिए ।

सभामुख अधिकारीलाई राजमो संसदीय दलका नेताथापाले शाही भेटिएको औपचारिक जानकारी गराएका छन् । ‘मैले जानकारी गराएँ, संसद कसरी सुरु गर्ने भन्नेबारे उहाँले दलको रायलिनुभयो,’ सांसद थापाले भने । 

भेटमा सांसद थापाले संसदको बैठक यथाशीघ्र छिटो डाक्न अनुरोध गरेकोसुनाए । आफ्नो दलका कारण सदन अनिश्चितकालका लागि स्थगित भएपछि छिटो सुरु गर्न सुझाव दिएको थापाले बताए । ‘दलको कारण धेरै समय स्थगित भएको छ, अब छिटो सुरु गर्नुस् भनेको छु,’ थापाले भने । सभामुखले छलफलबिनै सदन स्थगित गरेको थापाको बुझाइ छ । अर्कोतर्फ राजमोकी सांसद पियारी थापा सांसद हराएपछि खोजीमा लाग्न बैठक स्थगित  भएको बताउँछिन् ।

‘कम्तीमा कार्यव्यवस्थाको बैठक राखेर बैठक स्थगित गर्नुपथ्र्यो नि, कि त प्रमुख सचेतकहरुलाई राखेर बुझ्नुपर्थ्याे,’ राजमो संसदीयदलका नेता थापाले भने । सदन स्थगित गर्नेबारे निवेदन दिने बेला सांसद पियारी थापाले दलको कुरा नसुनी निवेदन दिएको उनको भनाइ छ । 

सभामुख नेत्रनाथअधिकारीले कृष्ण थापासँग छलफल गर्नुअघि कांग्रेस संसदी यदलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गरेका थिए । ‘सभामुखज्यूले हाम्रा दलका नेतासँग पनि फोनवार्ता गरिसक्नु भएको छ,’ कांग्रेस सांसद कुमार खड्काले भने । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ । गण्डकी प्रदेश सभामा कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा अविश्वास प्रस्ताव पेस गरेका थिए । १५ वैशाखको बैठकको कार्यसूचीमा चढेको अविश्वास प्रस्तावमा मतदाननभई बैठक स्थगित भएपछि सत्ता र विपक्षी पार्टीबीच अविश्वासमा मतदान हुने/नहुनेमा तर्क–वितर्क हुन थालेको छ । 
 


Author

थप समाचार
x