राजनीति

राजधानी व्यवस्थापनमा सबै लाग्नुपर्छ : मुख्यमन्त्री गिरी

इकागज |
माघ १५, २०७९ आइतबार २१:४३ बजे

फाइल तस्बिर

देउखुरी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सचेत गराएका छन् । दाङको घोराही उपमहानगरपालिकाको ४५औँ स्थापना दिवसका अवसरमा आज आयोजित समारोहमा उनले राजधानी फर्किनेभन्दा पनि उचित कार्यान्वयनको प्रक्रियामा अघि बढेको बताए । 

मुख्यमन्त्री गिरीले कसैकसैले राजधानी जान्छ कि भन्ने शङ्का गर्ने गरेकामा अब दाङबाट राजधानी कुनै हालतमा कतै नजाने बताए । लुम्बिनी प्रदेशका सबै नागरिकलाई पायक पर्ने स्थानमा राजधानी स्थापित गर्नका लागि सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले राजधानी कार्यान्वयनको प्रक्रियामा अघि बढेको हुँदा सबैमा ढुक्क हुन आग्रह गरे । 


मुख्यमन्त्री गिरीले अब राजधानी दाङमै हुने हुँदा यसका लागि बाँकी चरणका काम यहाँका सबै तह र तप्का, निकायसँग सहकार्य गरेर कार्यान्वयन गरेर अघि बढ्ने अवगत गराए । 'कसैकसैलाई अझै पनि भ्रम छ, कि फेरि राजधानी बुटवलमै फर्कन्छ कि भनेर, अब राजधानी फर्कंदैन । ढुक्क हुनुस् । अब राजधानी दाङमा हुन्छ, राजधानी देउखुरीमा हुन्छ, यो आशङ्का कोही कसैले नराख्नूस्,' उनले भने, 'बाँकी चरणका  काम यहाँका सबै तहतप्का, निकायसँग सहकार्य गरेर कार्यान्वयन गरेर अघि बढ्नेछौँ ।'

दाङ उपत्यकालाई पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा अघि बढाउने सङ्कल्प पूरा गर्न सक्छौँ भन्ने सोचसहित तत्कालीन संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारले अघि बढाएको स्मरण गर्दै वर्तमानमा सबैको माया, सद्भावले प्रदेशको नेतृत्व गर्ने मौका आफूले पाएको हुँदा वर्तमान सरकारले यहाँका तमाम विकासका योजना, कार्यक्रम नजिकबाट कार्यान्वयन गर्न, घोराही तुलसीपुर चारलेन सडक पूर्वाधार विकासको कामलाई पूर्णता दिन गम्भीर रूपमा अघि बढेको बताए ।


Author

थप समाचार
x