राजनीति

मुख्यमन्त्रीमा पोखरेलको पुनःनियुक्ति अनैतिक र असंवैधानिक : दाहाल

इकागज |
बैशाख १९, २०७८ आइतबार २१:१९ बजे

फाइल फाेटाे

काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति अनैतिक र असंवैधानिक रहेको बताएका छन् । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमत प्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेपछि दाहालको वक्तव्य आएको हो ।  

दाहालले पोखरेल अल्पमतमा रहेको भन्दै अल्पमतमा परेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु हाँस्यास्पद भन्दै शपथ ग्रहण रोकी नियुक्ति बदर गर्नुपर्ने बताए । त्यहाँ भइरहेको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको उनले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् । 


‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन अनैतिक र असंवैधानिक छ’ उनले लेखेका छन् । 

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा र अन्य स्वतन्त्र हैसियतकासमेत गरी ४२ सांसदहरुले हस्ताक्षर गरी मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन गरेको भन्दै दाहालले पोखरेललाई  ३७ जनाको मात्र समर्थन रहेकोसमेत स्पष्ट पारेका छन् ।  उनले प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन भन्दै चेतावनी दिएका छन् । 

‘प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दाबेदार केसीलाई नियुक्तिकाे साथसाथै शपथ गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न सुझाएका छन् ।  

प्रदेश सभाका सांसदहरुले २०७८ बैशाख ६ गते प्रदेश सरकारविरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको माग गरेका थिए  । १९ गतेबाट विशेष अधिवेशन डाकिएको थियो । लोकतान्त्रिक प्रक्रियाबाट अविश्वास प्रस्तावको सामना गर्नुको बदला अल्पमतमा रहेका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिई संसदको काम कारबाही अवरुद्ध गरेको भन्दै दाहालले आक्रोश व्यक्त गरका छन् । 


Author

थप समाचार
x