राजनीति

ट्याक्टरमा आगो लगाएको आरोपमा सांसद अरुणकुमार चौधरी पक्राउ

इकागज |
माघ १९, २०७९ बिहीबार १५:२५ बजे

कैलाली- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरूले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए ।

जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरूलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६/६ महिनाको दरले कैद सजाय तोकियो ।

क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरू फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो ।


Author

थप समाचार
x