राजनीति

सन्दीपलाई क्यानले निलम्बन फुकुवा गरेपछि गगन थापाले भनेः तत्काल फिर्ता लिनुपर्छ, नो इफ, नो बट

इकागज |
माघ २०, २०७९ शुक्रबार १९:१५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्यानले बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेकोमा आपत्ति जनाएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत शुक्रबार साँझ लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेपछि बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन पाउन नहुने धारणा सार्वजनिक गरेका हुन् ।


अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेपछि सबैले प्रश्न गरेपछि थापाले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ उनले लेखेका छन् ,’ एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष(जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ।‘

उनले यस खालको निर्णय नगर्ने आश्वासन दिएको खुलाएका छन् । ‘तर त्यसो हुन सकेन,’ उनले भनेका छन् ।

‘पुनः दोहोर्‍याउन चाहन्छु - बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। नो इफ, नो बट,’ उनले थपे ।

मंगलबार बसेको क्यानको बैठकले लामिछानेलाई निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो  ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएका थिए । केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

 

 

 

 

 

 


Author

थप समाचार
x