राजनीति

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : मन्त्री लिङ्देन

इकागज |
माघ २८, २०७९ शनिबार १६:२६ बजे

फाइल तस्बिर

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङ्देनले चौतर्फी रूपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरूले नै भन्ने गरेको बताए ।


उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरूले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने उल्लेख गरे । उनले विद्यार्थीहरू राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए ।

मन्त्री लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको जिकिर गरे । उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे ।

मन्त्री लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरूलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरू स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भए पनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।


Author

थप समाचार
x