राजनीति

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ : मुख्यमन्त्री कार्की

इकागज |
माघ २८, २०७९ शनिबार १६:५५ बजे

फाइल तस्बिर

बनियानी- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए । उनले भने, 'मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।'


प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले बताए । मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए । 'पाँच वर्षसम्म प्रदेशको न्वारन  हुन सकेन,' उनले भने, 'प्रदेशको नामकरण हुन नसक्दा मलाई लज्जाबोध भइरहेको छ ।'

प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयंसेवा सम्मानबाट तीन जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन् । नगद रु ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सभापति लोकराज ढकालले उनीहरूलाई सम्मानित गरेका थिए ।

यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसिज, तेरापन्थ युवा परिषद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।


Author

थप समाचार
x