राजनीति

‘महामारीमा हरायो सुदूरपश्‍चिम सरकार’

नवराज पनेरु |
बैशाख २१, २०७८ मंगलबार १४:५१ बजे

फाइल तस्‍बिर

धनगढी : दुई दिनअघि आफ्ना नागरिकको शव गनेर बस्‍ने प्रदेश सरकार किन चाहियो ? भन्दै पत्रकार महासंघ कैलालीका पूर्वअध्यक्ष दिर्घराज उपाध्यायले सामाजिक सञ्‍जालमा प्रश्‍न तेर्साए ।  ‘कोरोना महामारीको दोस्रो लहर आउछ भन्‍ने निश्‍चित थियो । तर प्रदेश सरकारले यो अवधिमा न एउटा अस्पताल थप्यो, न एक जना चिकित्सक, न एक थान अक्सिजन नै,’ उनले अगाडि भनेका छन्,  ‘यो अवधिमा अक्सिजन र उपचारको अभावमा मृत्यु भएका सय जनाको मृत्यु होइन । हत्या हो । यो हत्याको जिम्मेवार प्रदेश सरकार हो ।’

उपाध्यायको प्रश्नमा जवाफ फर्काउने ७१ जनामा लगभग सबैले प्रदेश सरकारको आलोचना गरेका छन् । ‘प्रदेश सरकारको कामै छैन । प्रदेश सरकार पाल्ने खर्चले राम्रो अस्पताल संचालन गर्न सकेको भए आज अक्सिजन नपाएर जनताले अकालमा ज्यान गुमाउनुपर्ने त थिएन,’ महेन्द्र शाहीले लेखेका छन् । 


कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण र मृत्यु दर बढेपछि अहिले सुदूरपश्‍चिम प्रदेश सरकारको खोजी भइरहेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा त सामाजिक सञ्‍जालमार्फत प्रदेश सरकार खोज्‍ने अभियान नै थालनी भएको छ । धनगढीका व्यवसायी रविन पन्त भन्छन्, ‘हाम्रो सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री र स्वास्थमन्त्री चिनाउने अभियानमा लागौ । पद ओगट्ने तर काम नगर्ने हाम्रा माननीय ज्यूहरू उहाँहरू नै हो । झुक्किएर भेट्नुभयो भने सोध्नुहोला- मानवीय विपत्तिको बेला के-के गर्नु भयो ? भनेर ।’

सामाजिक कार्यमा सक्रिय मदन भट्टको प्रदेश सरकार खोज्‍ने साता लामो अभियानले अझै पूर्णता पाएको छैन् । ‘देशका अरु प्रदेश सरकार ठाउँठाउँमा अक्सिजन प्लान्ट जडान गर्दैछन । अक्सिजन सपोर्टसहितका अस्पताल र आइसोलेशन निर्माण गर्दैछन,’ उनले भने,  ‘हाम्रा लागि गठन भएको हाम्रै प्रदेश सरकार के गर्दैछ थाहा छैन् ।’
कोरोना महामारीको अवधिमा ‘निन्द्रामा’ रहेको प्रदेश सरकारले जनतालाई आश्‍वासन दिनेसमेत काम नगरेको प्रदेशवासीको गुनासो छ । निषेधाज्ञामा अटो रिक्सामा बिरामी आमालाई सेती अस्पताल लैजादै गर्दा धनगढीमा भेटिएका रमेश अवस्थीले भने, ‘संकटमा समयमा प्रदेश सरकारले जनताको साथमा छौ भने पनि मनोबल बढ्छ । तर यहाँ प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई खोज्नुपर्ने अवस्था छ । महामारीमा सुदूरपश्‍चिम सरकार हराएको छ ।’ 

सुदूरपश्‍चिम प्रदेश सरकारले जनताको मात्र होइन अग्रपक्तिमा खटिएका कर्मचारीको पनि मनोबल बढाउने काम गर्न सकेको छैन् । पछिल्लो एक वर्षदेखि कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाएका छैनन । तर क्वारेन्टिन अनुगमनमा जाँदा प्रदेश सरकारका मन्त्री र सांसदहरुले भत्ता बुझेका छन् । 

गाडी र उपकरणहरू खरीद गर्न एक अर्ब बढी खर्च गरेको प्रदेश सरकारले तीनै उपकरण (भेन्टिलेटर, आईसीयू) चलाउने जनशक्ति नियुक्त गर्न सकेको छैन् । कोरोना संक्रमित अक्सिजन नपाएर तड्पिदै ज्यान गुमाइरहेका छन् । तर प्रदेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल भर्ना गर्न सकिरहेको छैन् । अस्पतालहरू श्यैया खाली नभएको भन्दै बिरामीलाई घर फर्काइरहेका छन् । 

फोहोरी राजनीति कायमै

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सुदूरपश्चिकमका लागि फोकल मन्त्री तोक्यो । प्रदेशसँग समन्वय र संयोजनगरी महामारीविरुद्धको लडाइमा आवश्यक पर्ने लजिष्टिक सहयोग गर्ने जिम्मा उनलाई दिइएको छ । संयोजनको जिम्मेवारी पाएपछि मन्त्री भट्ट सोमबार कैलाली पुगे । 

कोरोना रोकथाम र उपचारका लागि मन्त्री भट्टले सोमबार नै बैठक बोलाए । गेटा मेडिकल कलेजलाई अस्थायी कोभिड अस्पताल बनाउने विषयमा आयोजित छलफलमा मुख्यमन्त्री भट्टलाई स्वकीय सचिव शिवसिंह ओलीमार्फत आमन्त्रण गरेका थिए मन्त्री भट्टले । तर उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अनुपस्थित रहे । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी पनि सहभागी भएनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले गेटा मेडिकल कलेजमा आयोजित छलफलमा सहभागी नभए पनि मुख्यमन्त्री भट्टलाई कार्यालयमै भेट्न समय मागेका थिए । 

तर मुख्यमन्त्रीले आज पनि भेट्न इच्छा नराखेको मन्त्री भट्टको सचिवालयले जनाएको छ । विगतमा एउटै पार्टीमा रहेका संघीय मन्त्री भट्ट र प्रदेशका मुख्यमन्त्री भट्ट अहिले छुट्टाछुट्टै पार्टीमा छन् । मुख्यमन्त्री माओवादी केन्द्रमै छन् भने संघीय मन्त्री भट्ट एमालेमा छन् । दुई नेताबीचको धुव्रीकरणले सुदूरपश्‍चिम प्रदेश ठूलो संकटमा जाने चिन्ता प्रदेशवासीको छ ।

सुदूरपश्चिममा सक्ता साझेदार नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङले पनि कोरोना रोकथामका लागि संघीय मन्त्रीले बोलाएको बैठकमा नजानु गलत भएको बताए । ‘मैले पनि त्यो सुने । जानकारी भएर पनि नजानु गलत हो । विषेश परिस्थितीले नजानु भएको भए थाहा भएन्,’ उनले भने । तामाङले कोरोना रोकथाम र उपचारमा प्रदेशमा तीन तहको सरकारबीच समन्वयको अभाव रहेको बताए । 

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले पनि प्रदेश सरकारले जनतालाई सुरक्षित पार्न नसकेको बताए । ‘कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारको भूमिका शून्य जस्तै छ,’ उनले भने, ‘स्थिति भयावह भइसकेको छ । अब तीन तहकै सरकारले समन्वय गर्दै अगाडि बढ्नुको बिकल्प छैन् । नेपाली काँग्रेस साथ र सहयोग गर्न तयार छ ।’ 

कोरोना रोकथाममा प्रदेश सरकारको भूमिकाको विषयमा मुख्यमन्त्री भट्टलाई बुझ्‍न खोज्दा उनको फोन उठेन । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बोल्न मानेनन् । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने कोरोना परीक्षण, संक्रमितको उपचार र भारतबाट आएका संक्रमितहरूका लागि आइसोलेसनको व्यवस्था पनि प्रदेश सरकारले नै गरेको दाबी गरे ।  


Author

थप समाचार
x