राजनीति

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

इकागज |
फागुन ९, २०७९ मंगलबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौ- नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । फोक्सोको तल्लो भागमा इन्फेक्सन भए पनि जोखिम नरहेको उनीसँगै गएका सहयोगी योगराज कँडेलले जानकारी दिए ।

भण्डारीलाई रिजरभायर ब्यागबाट १५ लिटर अक्सिजन दिएको उनले बताए । उनका अनुसार डाक्टरको योजना १५ लिटर अक्सिजनबाट घटाउँदै लैजाने छ । उनलाई अहिले पनि अस्पतालले ट्रायलमा राखेको छ । सबै पारामिटर सामान्य छ ।


भण्डारीलाई भेण्टीलेटरबाट हटाएसँगै इटी ट्युब पनि निकालिएको कँडेलले जानकारी दिए । ज्वरो नआएकाले अवस्था सामान्य रहेको उनको भनाइ छ । छातीको फिजियो भइरहेको उनले बताए ।

‘सुन्निएको अनुहार पूरानै अवस्थामा फर्केको छ । कुनै-कुनै ठाउँमा रातो-रातो नयाँ छाला पलाउन थालेको छ,’ उनले भनेका छन् ।

डाक्टर र नर्सको भनाइ उद्दत गर्दै बिरामीले धेरै कुरा गर्न खोजिरहेको र कुरा नबुझिएको उनले बताए । आत्तिनु पर्ने कुनै अवस्था नरहेको र टाठो गरी चिकित्सकहरूसँग बोलिरहेको कँडेलले बताएका छन् ।

उनलाई बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बई लगिएका थियो । 

गत बुधबार राति काठमाडौँ बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । 

शरीरको ७० प्रतिशतभन्दा बढी जलेकी आमाको भने बिहीबार नै कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

 


Author

थप समाचार
x