राजनीति

युक्रेनी जनताले १२ महिनासम्म भोगेको अकल्पनीय त्रास

इकागज |
फागुन १२, २०७९ शुक्रबार २१:५१ बजे

युक्रेनमाथि रूसद्वारा भएको आक्रमणबाट पीडित भएकाहरूको न्यायका लागि अन्तर्राष्ट्रिय समुदायले बलियो योजना बनाउनु पर्छ ।

युक्रेनमाथि रूसले आक्रमण गरेको एक वर्ष पुगेको दिनमा एम्नेस्टी इन्टरनेसनलले एक वक्तव्य निकालेर भनेको छ-  युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय त्रास भोगेका छन् । हामी स्पष्ट हौँ : भ्लादिमिर पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ । आफूले भोगेको सबै कुराका लागि जीवित रहेका व्यक्तिहरू न्याय र परिपूरणको हकदार छन् । अन्तर्राष्ट्रिय समुदाय यसलाई अन्त्यसम्म नियाल्न अडिग रहनुपर्छ ताकि पीडितहरूलाई न्याय होस् । एक वर्ष बितेको छ र अझ धेरै गर्नु आवश्यक छ ।


सन् २०२२ फेब्रुअरी २४ मा रूसी सैन्य बलहरूले युक्रेनमा व्यापक आक्रमण सुरु गरेको थियो र यस कदमलाई एम्नेस्टी इन्टरनेसनलले 'आक्रमण र मानवअधिकार विनाशको कार्य' भनेको थियो । त्यसैबेलादेखि रूसी सेनाहरूले युद्ध अपराध र गैरन्यायिक हत्या, नागरिक पूर्वाधार र आश्रय स्थलहरूमा भीषण हमला, नागरिकहरूको निष्कासन र जबर्जस्ती स्थानान्तरण र शहरहरूमा गोलाबारी गरी ठूलो मात्रामा गैरकानूनी हत्यालगायत अन्तर्राष्ट्रिय मानवीय कानुनको अन्य उल्लङ्घनहरू गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार आक्रमण जारी नै रहेको र युक्रेनमा भएका अपराधहरूको पूर्ण विवरण थाह नभएको अवस्थामा पीडित र जीवित रहेकाहरूको न्यायको माग तथा उनीहरूको अधिकारलाई प्राथमिकतामा राखिनुपर्दछ । अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधमा जिम्मेवारहरूले दण्डहीनतामाथि जवाफदेहिता र न्यायको जित हुन्छ भन्ने कुरा थाह पाएको सुनिश्चित गर्ने स्पष्ट तायित्व अन्तर्राष्ट्रिय समुदायसामु रहेको छ ।

'रूसी सशस्त्र बलहरूले युक्रेनमा आफ्नो आक्रमण बढाइराखेको सन्दर्भमा मानवअधिकार उल्लङ्घन र युद्ध अपराधका सबै पीडकहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता जरुरी छ,' एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले भनिन् ।

द्वन्द्वको सुरुवातदेखि नै एम्नेस्टी इन्टरनेसनलले महत्त्वपूर्ण नागरिक पूर्वाधारलाई लक्षित गरिएको र नागरिक सहायतालाई अवरुद्ध गरिएको लगायतका युद्ध अपराधहरूको अभिलेख राखेको छ । द्वन्द्व प्रभावित क्षेत्रका नागरिकहरूले लगातार आक्रमणको सामना गरिरहेका छन् र उनीहरूलाई पिउने पानी, बिजुली र न्यानो बनाउने सेवाबाट वञ्चित पारिएको छ । रूसले कब्जा गरेको क्षेत्रहरूमा बसोबास गर्ने धेरै मानिसलाई मानवीय सहायता वा चिकित्सा हेरचाहको सख्त आवश्यकता रहेको छ । तर पनि उनीहरूलाई युक्रेनी सरकार-नियन्त्रित क्षेत्रहरूमा यात्रा गर्ने अधिकार दिइएको छैन ।

युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय त्रास भोगेका छन् । हामी स्पष्ट हौँ : भ्लादिमिर पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ । आफूले भोगेको सबै कुराका लागि जीवित रहेका व्यक्तिहरू न्याय र परिपूरणको हकदार छन् । अन्तर्राष्ट्रिय समुदाय यसलाई अन्त्यसम्म नियाल्न अडिग रहनुपर्छ ताकि पीडितहरूलाई न्याय होस् । एक वर्ष बितेको छ र यो स्पष्ट छ कि अझ धेरै गर्नु आवश्यक छ ।

यौनिक र लिङ्गमा आधारित अपराध लगायत दशौँ हजार युद्ध अपराधका घटनाहरू दर्ता गरिएका छन्, तर जारी द्वन्द्वका पीडितहरूको सङ्ख्या अझ धेरै हुनेछ ।

पीडितको अधिकार र आवश्यकताहरू

'यस द्वन्द्वको दौरान अनगिन्ती मानिसहरू संपार्श्विक क्षति (युद्धका क्रममा गैरनियतवस भएका मृत्यु र हताहति वा क्षति) मा परिणत भएका छन् । जब तोप प्रहार हुन्छ, यसले मासु मात्र छेड्दैन । यसले जीविकोपार्जन खोस्छ, महत्त्वपूर्ण पूर्वाधारलाई नष्ट गर्दछ र धेरैलाई उनीहरूको पहिलेको जीवनको भग्नावशेषमा बस्न असक्षम पार्दछ,' आग्नेस कालामारले भनिन् ।

युक्रेनमा भएका अन्तर्राष्ट्रिय कानुनअन्तर्गत भएका अपराधहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका धेरै अनुसन्धानहरू लगायतले  द्वन्द्वलगत्तैको प्रतिक्रिया उत्साहजनक रहेको छ । तर युक्रेनका लागि विस्तृत न्याय पीडितहरूलाई अर्थपूर्ण न्याय र परिपूरण प्रदान गरेर मात्र प्राप्त हुनेछ । अन्तर्राष्ट्रिय समुदायले विद्यमान न्यायिक संयन्त्रहरूलाई बलियो र दिगो सहयोग प्रदान गरेमा मात्र यो सम्भव हुनेछ ।

थप विस्तृत न्यायको लागि नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्रहरूको बारेमा पनि विचार गर्न आवश्यक छ– जस्तै मार्च २०२२ मा एक स्वतन्त्र छानबिन आयोग गठन गर्ने मानवअधिकार परिषद्को स्वागतयोग्य निर्णय । अन्ततः यसले ठूलो संख्याका युद्ध अपराधका मुद्दाका साथै अन्तर्राष्ट्रिय फौजदारी अदातल आफैले क्षेत्रअधिकारसम्बन्धी सीमाको कारण अनुसन्धान गर्न नसक्ने आक्रामक युद्धको अपराधमा अन्तर्राष्ट्रिय न्याय प्रतिक्रियालाई बलियो बनाउन सक्छ ।

'सही संयन्त्रहरू स्थापित गरिएको सुनिश्चित गर्नुका साथै हामीले अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधमा जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउने र तिनीहरूले गरेको अनुचित कार्यहरूको परिणाम भोगाउने कुरालाई सुनिश्चित गर्नुपर्छ । यसमा युद्ध अपराध र अन्तर्राष्ट्रिय कानुनबमोजिमका आक्रामक अपराधको लागि वरिष्ठ सैन्य कमाण्डरहरू र नागरिक नेताहरूको अनुसन्धान पनि समावेश हुन्छ,' आग्नेस कालामारले भनिन् ।

यस्ता मुद्दाहरू बनाउन जटिल हुन सक्छ । तर यो आवश्यक छ कि अनुसन्धानले तल्लो तहका प्रत्यक्ष पीडकहरूलाई मात्र नभई उच्च तहका कमाण्ड श्रृंखलामा रहेकाहरूलाई पनि ध्यान पुर्याउनुपर्दछ । जहाँ सुनुवाइहरू हुन्छन् त्यस्ता सुनुवाइहरूले जीवित रहेकाहरूको पूर्ण सहभागिता र उनीहरूको आवश्यकताहरूलाई विचार गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार र निष्पक्ष-सुनुवाइका मापदण्डहरूको पालना गर्नुपर्छ ।

'अथाह नागरिक पीडा पैदा गर्दै विश्वका प्रत्येक कुनामा युद्धहरू फैलिरहेको अवस्थामा युक्रेनको न्यायिक प्रकृया सबै द्वन्द्वहरूका निम्ति एउटा खाका बन्नुपर्छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको कारबाही लगायत अन्तर्राष्ट्रिय समुदायको सुरुवाती अभूतपूर्व प्रतिक्रिया अन्तर्राष्ट्रिय न्याय प्राप्तिको लागि एउटा न्यूनतम मापदण्ड बन्नुपर्छ,' आग्नेस कालामारले भनिन् ।

दिगो प्रतिबद्धता र समन्वय

'पटक पटक एम्नेस्टी इन्टरनेसनल र अन्य नागरिक समाज समूहरूले सामूहिक कार्यको लागि र वृहत्तर हितको लागि मानिसहरूलाई एकजुट हुन आह्वान गरेका छन् । यस विषयमा पनि यो कुरा लागू हुन्छ । अन्तर्राष्ट्रिय न्याय प्राप्तिको लागि काम गरिरहेका सबै संस्था र निकायहरूले आआफ्नो दृष्टिकोण आदानप्रदान गर्न र रणनीतिहरूको समन्वय गर्नका लागि एकजुट भई काम गर्नुका साथै विशेषज्ञता र क्षमताको कमीलाई पनि सम्बोधन गर्नुपर्छ । अहिलेको समयमा खण्डीकृत रूपमा आ-आफ्नो कार्यमात्रै गरेर बस्ने होइन,' एग्नेस कालामार्ड भनिन् ।

अन्तर्राष्ट्रिय समुदायले स्वच्छ, प्रभावकारी र निष्पक्ष अनुसन्धानलाई सहयोग गर्नुपर्छ र राष्ट्रहरूले युक्रेनलाई रोम विधान अनुमोदन गर्न, घरेलु कानुनलाई अन्तर्राष्ट्रिय कानुनी मापदण्डअनुरूप बनाउन र अन्तर्राष्ट्रिय फौजदारी अदालतसँगको सहयोगलाई सबलीकरण गर्न  झक्झकाउनु पर्छ । अन्तिममा, युक्रेनको न्यायका लागि विश्वव्यापी क्षेत्राधिकारको कानुन भएका राष्ट्रहरूले उक्त कानुनले युक्रेनीहरूलाई कसरी न्याय प्रदान गर्न सक्छ भन्ने बारे सोच विचार गर्नुपर्छ ।

मानवीय सहायताको आवश्यकता

सहायता प्रस्ताव गर्ने क्रममा अन्तर्राष्ट्रिय समुदायले महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू र बालबालिका जस्ता जोखिममा रहेका व्यक्तिहरूको विशेष आवश्यकतालाई पहिचान गर्नुका साथै बालबालिकालगायत धेरै युक्रेनीहरूलाई युक्रेनबाट रूसमा पठाइएको वा रूसले नियन्त्रण गरेको भूभागमा बलजफ्ती सारिएको र त्यसरी सारिएका व्यक्तिहरू सुरक्षित रूपमा आफ्नो घर फर्किने अवस्था नरहेको विषयलाई पनि मनन गर्नुपर्छ । यस्ता विशेष समूहहरूलाई प्राथमिकतामा राखिनुपर्छ र उनीहरूलाई प्रदान गरिने सबै मानवीय सहायताहरू उनीहरूको खास आवश्यकताहरूलाई पूर्ति गर्नका निम्ति अनुकूलन गरिएको हुनुपर्छ ।

जीवित रहेकाहरूको आवश्यकतालाई प्राथमिकतामा राखी आर्थिक र मानवीय सहायताको व्यवहारिकतालाई सुनिश्चित गर्नका लागि युक्रेनी नागरिक समाज संस्थाहरूसँगको सहकार्य अत्यावश्यक हुन्छ । अन्तर्राष्ट्रिय समुदायले यस्ता सहकार्य गर्दा मानवीय सहायता, पुन:प्राप्ति, न्याय र परिपूरणमा केन्द्रित प्रकृयाहरूको प्रत्येक चरणमा पारदर्शिता, प्रभावकारीता, पीडित संवेदनशीलतालाई सुनिश्चित हुने गरी गर्नुपर्छ ।

'युक्रेनमा रूसको आक्रमणबाट प्रभावित र पीडितहरूका लागि न्याय र परिपूरण सुनिश्चित गर्नका निम्ति गत वर्षदेखि युक्रेनी नागरिकहरूमाथि भएको अत्यधिक शारीरिक, मनोवैज्ञानिक र आर्थिक क्षतिलाई स्वीकार गर्नु अत्यावश्यक छ,' आग्नेस कालामारले भनिन् ।

आवरण तस्बिर सौजन्यः युनिसेफ, श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x